‘श्री बुकुरो’ को ताल : रिलिजको सँघारमा सुटुक्क ट्रेलर, न हल्ला न खल्ला!
काठमाडौं : फिल्म रिलिज हुन जम्मा एक साता मात्र बाँकी छ, तर अहिलेसम्म फिल्मबारे दर्शकलाई अत्तोपत्तो नै छैन। कुरा हो- ‘श्री बुकुरो : द होम कलिङ’ को।
महाशिवरात्रिको ‘बम्पर ओपनिङ’ छोप्न तम्तयार भएको यो फिल्मले न कुनै ठूलो इभेन्ट गरेको छ, न त बजारमा कुनै हाइप नै छ। बिहीबार निर्माण पक्षले युट्युबमा ‘सुटुक्क’ ट्रेलर फ्याँक्यो।
ट्रेलर हेर्दा भने फिल्ममा ‘दम’ देखिन्छ। ३ मिनेट ३३ सेकेन्डको भिडियोमा भेट्रान अभिनेत्री लक्ष्मी गिरीको अभिनयले मन छुन्छ। गाउँले परिवेश, सानो घर बनाउने सपना, छोराको बिहे र ज्योतिषको ग्रह-दशाको लफडा... कथा त अर्ग्यानिक नै लाग्छ।
तर, विडम्बना! ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म बनाएका निर्देशक सुदीप भुपाल सिंह र उनका निर्माताहरू मार्केटिङमा चाहिँ साह्रै कञ्जुस्याइँ गरे। दर्शक नै नबोलाई हलमा फिल्म कसलाई देखाउने हो, त्यो भने बुझिनसक्नु छ।
फिल्ममा रञ्जीत गजमेरजस्ता लेजेन्ड्री संगीतकारको संगीत छ, शिव परियारको स्वर छ। राजन इशान, लय संग्रौला, मोहन निरौलादेखि नयाँ अनुहारसम्मको जम्बो टोली छ। तर, प्रचारप्रसार हेर्दा लाग्छ- टिम अझै निद्रामै छ।
रोचक कुरा त के छ भने, फागुन १ मा ‘श्री बुकुरो’ मात्र होइन, ‘बिगुल’ र ‘शिवांश’ पनि भिड्दैछन्। अचम्मको संयोग- तीनवटै फिल्मको प्रचार ‘शून्य’ बराबर छ।
यस्तो पाराले बक्स अफिसमा कसले बाजी मार्ला वा तीनै फिल्म चिप्लिने हुन्? त्यो त रिलिजपछि नै थाहा होला। अहिलेलाई भने ‘श्री बुकुरो’को यो रहस्यमय मौनताले फिल्मी बजारमा कानेखुसी सुरु गराएको छ।
माघ २३, २०८२ शुक्रबार १३:०९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।