मिसन पुस्तान्तरण-१५ : मुस्ताङमा पुराना दलको विरासतलाई ३९ वर्षीय ‘मास्टरसाब’को चुनौती
काठमाडौं : पञ्चायतदेखि बहुदल र गणतन्त्र हुँदै संघीयतासम्म आइपुग्दा मुस्ताङको राजनीतिक प्रतिनिधित्वमा खासै विकल्प देखिएको थिएन।
यहाँका हरेक चुनावी परिणाममा स्थापित दलहरूकै वर्चस्व कायम रहँदै आएको छ। तर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिदृश्य भने फेरिएको छ।
पुराना दलको विरासतलाई टक्कर दिँदै मुस्ताङमा नयाँ दल र नयाँ अनुहार मैदानमा देखिएका छन्।
युवा मतदाता, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक र पर्यटन व्यवसायीले पारदर्शिता, जवाफदेहिता र स्थानीय सरोकारको माग गरिरहेको समयमा राजनीतिमा प्रवेश गरे ३९ वर्षीय युवा अधितीय चन्द्र थकाली।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका थकालीका लागि मुस्ताङको स्थापित राजनीतिक संरचना भत्काउन सहज पक्कै छैन। तर, दुई दशक लामो शैक्षिक अनुभव, नयाँ जोश र आत्मविश्वास बोकेर उनी चुनावी मैदानमा होमिएका छन्।
को हुन् अधितीय ?
घरपझोङ गाउँपालिका, जोमसोमका स्थायी बासिन्दा थकालीले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।
उनले जोमसोमकै धौलागिरि आवासीय विद्यालय र तेज निरला जनहित बहुमुखी क्याम्पसमा लामो समय अध्यापन गराए। विगत ६ वर्षदेखि उनी सोही क्याम्पसको प्रमुखको जिम्मेवारीमा थिए।
‘म राजनीतिमा नयाँ भए पनि जिल्लाका लागि नौलो अनुहार होइन,’ थकाली भन्छन्, ‘दुई दशकदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहेर विद्यार्थीदेखि अभिभावकसम्मको मनोविज्ञान बुझेको छु। त्यसैले चुनौतीभन्दा पनि अवसर देखेको छु। मुस्ताङबासीले नयाँ र शिक्षित व्यक्तिलाई रोज्नुहुनेछ भन्ने मेरो विश्वास छ।’
शिक्षण पेशामा रमाइरहेका थकालीलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले गहिरो प्रभाव पार्यो। विद्यार्थीमाथि भएको दमन र निर्मम प्रहारले आफूलाई राजनीतिमा आउन बाध्य पारेको उनी बताउँछन्।
प्राथमिकतामा शिक्षा, कृषि र भूमि व्यवस्था
शैक्षिक क्षेत्रको अनुभवी भएकाले उनले शिक्षालाई नै मुख्य एजेण्डा बनाएका छन्।
मुस्ताङमा उच्च शिक्षाको राम्रो सुविधा नहुँदा युवाहरू पोखरा वा काठमाडौं झर्नुपर्ने बाध्यता छ। यसलाई रोक्न छात्रवृत्तिदेखि निःशुल्क शिक्षासम्मका योजना उनले अघि सारेका छन्। भौगोलिक र आर्थिक विकटता भएको माथिल्लो क्षेत्रमा सुलभ शिक्षा पुर्याउने उनको लक्ष्य छ।
यस्तै, कृषिमा आधुनिकीकरणको नीतिलाई पनि उनले प्राथमिकतामा राखेका छन्। मुस्ताङको स्याउ खेतीलाई मात्र नभई यहाँको हावापानी सुहाउँदो अन्जिर, केशर र जैतुन खेतीको व्यावसायिक सम्भाव्यतालाई अगाडि बढाउने उनको भनाइ छ।
अर्कोतर्फ, जिल्लाका धेरै जग्गाको अझै नापी नहुँदा कृषकले भोग्नुपरेको स्वामित्वसम्बन्धी समस्या समाधान गर्न भूमिसम्बन्धी व्यवस्थालाई समतामूलक ढंगबाट अघि बढाउने योजना उनले मतदातासमक्ष राखेका छन्।
पुराना र नयाँ खेलाडीबीचको भीडन्त
अघिल्लो चुनावमा चार जना प्रतिस्पर्धी रहेको मुस्ताङमा यसपटक उम्मेदवारको संख्या दोब्बर भएको छ।
१० हजार ९५७ मतदाता रहेको यो जिल्लामा थोरै मतले पनि नतिजा फेरबदल हुन सक्छ। गत निर्वाचनमा कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ९९२ मत ल्याएर जितेका थिए भने एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी बनेका थिए।
यसपटक कांग्रेसले पुरानै जित जोगाउने दाउ गरिरहँदा एमालेले रणनीति बदल्दै गण्डकी प्रदेशसभाका अनुभवी नेता इन्द्रधारा विष्टलाई मैदानमा उतारेको छ। मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने अनुमान गरिए पनि अन्य दलहरूको उपस्थितिले मत विभाजन गर्न सक्छ।
चुनावी मैदानमा विप्लव समूहको माओवादीबाट ङुटुक गुरुङ, राप्रपाकी कमला लालचन, मंगोल नेसनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचन र आम जनता पार्टीका अजय बिक लगायतका उम्मेदवारहरू पनि सक्रिय छन्।
बदलिएको प्रचार शैली र चुनौती
२०७९ को निर्वाचनमा मुस्ताङमा रास्वपाको संगठन कमजोर थियो। प्रत्यक्षतर्फ उम्मेदवारले ८७ मत मात्र पाउँदा समानुपातिकमा २९९ मत खसेको थियो। तर, अहिले माहोल बदलिएको छ। क्याम्पसमा पढाएको कारणले नयाँ मतदाता र युवावर्गको राम्रो साथ पाएको थकालीको दाबी छ।
अर्कोतर्फ, भौगोलिक र मौसमी कारणले चुनावी प्रचार शैलीमा पनि परिवर्तन आएको छ। जाडो छल्न मुस्ताङका करिब ७० प्रतिशत नागरिक जिल्ला बाहिर (तराई तथा शहर) झरेका छन्। मतदाता गाउँमा नभएकाले उम्मेदवारहरू घरदैलोभन्दा पनि डिजिटल माध्यमबाट प्रचारप्रसारमा केन्द्रित छन्।
कतिपय उम्मेदवार आफैँ पनि जिल्ला बाहिर बसेर भोट मागिरहेका छन्। पुराना दलको बलियो पकड र वडास्तरीय संगठन भएको हिमाली जिल्लामा ‘मास्टरसाब’को इन्ट्री र डिजिटल प्रचारले चुनावी नतिजा कता मोडिन्छ, त्यो भने हेर्न बाँकी नै छ।
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणको यसअघिका सामग्री:
माघ २३, २०८२ शुक्रबार ०७:४९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।