पुरानै गालीको लयमा फर्किए रवि : पार्टीको नीतिमाथि प्रश्न गर्नेलाई भ्रष्टतन्त्रको ठेकेदार र विश्लेषणजीवीको आक्षेप

पुरानै गालीको लयमा फर्किए रवि : पार्टीको नीतिमाथि प्रश्न गर्नेलाई भ्रष्टतन्त्रको ठेकेदार र विश्लेषणजीवीको आक्षेप

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०७९ कै शैलीमा पुराना दललाई आरोप लगाउँदै र आफू विरुद्धको सहकारी ठगीको अभियोगको दोष अन्य दललाई लगाउँदै फेसबुकबाट भोट मागे।

स्वास्थ्योपचारमा रहेका उनले मंगलबार फेसबुकमा लामो सन्देश लिएर पुरानो दलका नेताको मात्रै हैन, रास्वपाको अजेण्डा छैन भनेर आलोचना गर्नेहरूलाई समेत दोषारोपण गरे। सङ्क्रमणका कारण केही दिन अस्पतालमा बिताएका उनले सन्देश जारी गर्दै फागुन २१ 'घटना होइन, इतिहास' निर्माण हुने दाबी गरे

सिंहदरबारको स्वरूप बदल्ने दाबी

मंगलबार फेसबुकमा उनले आफू सामान्य सत्ताको खेलमा सहभागी हुन मात्र नभई 'कुशासनको मुख्यालय' बनेको सिंहदरबारको संरचना नै परिवर्तन गर्न मैदानमा उत्रिएको दाबी गरे।

"म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछु," उनले लेखे, "दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न जनताको साथ चाहिन्छ।"

गत निर्वाचनमा रास्वपा चौथो दलको रूपमा उदाएपछि रवि रास्वपाबाट दुई पटक सरकारमा सहभागी भए। दुवै पटक कांग्रेसको गठबन्धन भत्काएर तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषद्मा उनी सहभागी भएका थिए।

पहिलो पटक निष्क्रिय नागरिकताको आधारमा उम्मेदवार बनेको सर्वोच्च अदालतको ठहरपछि उनको सांसद पद गुमेसँगै उनको उपप्रधान तथा गृहमन्त्रीसँगै संसद् र पार्टीको अध्यक्ष पद समेत गएको थियो।

उनले अमेरिकी नागरिक बन्दा निष्क्रिय भएको नागरिकता पुन सक्रिय गराएर चितवन २ मा भएको उपनिर्वाचनमा पुन जितेर संसदमा फर्किएका थिए। यो बिचमा कांग्रेस र माओवादीको गठबन्धन बदलिएर एमाले र माओवादी केन्द्रको गठबन्धन बने लगत्तै उनी पुन सरकारमा सहभागी भएर उपप्रधान तथा गृहमन्त्री भएका थिए।

दोस्रो पटक गृहमन्त्री बन्दा सहकारी ठगीको आरोप चर्कियो। बिचमा एकाएक गठबन्धन भत्किएर एमाले र कांग्रेसबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनको मन्त्री पद गुमेको थियो।

अन्तिम सुनामीको तयारीको दाबी

पुराना राजनीतिक दलहरू र तिनका नीतिहरूले देशलाई निकास दिन नसकेको आरोप लगाउँदै उनले 'निलो क्रान्ति' को उद्घोष गरे। पुराना दलहरूको गठबन्धन र षडयन्त्रप्रति लक्षित गर्दै उनले "जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ’ भन्दै चुनौती दिएका थिए।

भदौ २३ को आन्दोलनको बेलामा पुर्पक्षका लागि थुनामा रहेका रवि भदौ २४ मा नख्खु कारागारबाट निस्किएका थिए। उनी कारागारबाट निस्किएपछि देशैभरका जेलमा रहेका कैदी/बन्दीले विद्रोह गरेर करिब १५ हजार कैदी/बन्दी कारागार बाहिर आएका थिए। अझै सबै फर्किएका छैनन्।

जेनजी पुस्ताले आन्दोलन रविलाई कारागारबाट बाहिर ल्याउन भएको हैन भनेर सामाजिक सञ्जालमा अभियान सुरु गरेपछि उनी पुन नख्खु फर्किएका थिए। त्यो बेलामा रविसँगै रास्वपाका नेताहरू रक्षात्मक बन्न बाध्य भएका थिए। उनै रविले मंगलबार फेसबुकमा लेख्दै अन्तिम सुनामीको तयारी भइरहेको दाबी गरे।

उनले फागुन २१ को मितिलाई नेपाली इतिहासको महत्वपूर्ण 'माइलस्टोन' हुने दाबी गर्दै त्यसपछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने लेखेका छन्। 

"यतिका वर्ष देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ" उनले दाबी गरेका छन्।

नीति सोध्नेहरूमाथि गम्भीर आरोप

रास्वपामाथि प्रारम्भदेखि नै गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि प्रस्ट दृष्टिकोण नभएको, आर्थिक सामाजिक र राजनीतिक दृष्टिकोणको अभाव रहेको र केवल सामाजिक सञ्जालको लोकप्रियताको बलमा अगाडि बढिरहेको आरोप लाग्ने गरेको छ।

रविले मंगलबार फेसबुकमा यसलाई रास्वपाका दस्तावेजहरू नपढी 'लोकप्रियतावादी' र 'नीतिहीन' भनेको उल्लेख गरेका छन्। उनले राजनीतिलाई जटिल शब्दहरूमा भन्दा पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले पार्टीको नीतिमाथि आलोचना गर्नेहरूलाई भ्रष्टतन्त्रको ठेकेदार बनेको र विश्लेषणजीवी भन्दै गम्भीर आरोप लगाएका छन्। उनको नागरिकता निष्क्रिय रहेको सर्वोच्च अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै उनले मिडियामाथि १२ भाइको आरोप लगाएका थिए। अहिले पनि रास्वपाका समर्थकहरूले पार्टीको पक्षमा नलेखेको भन्दै मिडियालाई गाली गर्न त्यही शब्दको प्रयोग गर्ने गरेका छन्।

“हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, नीति सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन। सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्ताबेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने?” उनले लेखेका छन् “विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरूको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस्।” 

माघ २०, २०८२ मंगलबार १९:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।