३८ लाख राजश्व हिनामिनाको अभियोगमा प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुखसहित १० जना विरुद्ध मुद्दा

३८ लाख राजश्व हिनामिनाको अभियोगमा प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुखसहित १० जना विरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० ले ३८ लाख राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा मंगलबार तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।

अभियोग पत्रमा आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको दाबी गरेको छ। उनीहरूले सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडाउँदा ३८ लाख ७७ हजार ७ सय फरक परेको अख्तियारको दाबी छ।  

अख्तियारले तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव तथा विल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पूजा कुमारी यादवलाई समेत प्रतिवादी बनाएको छ। कर्मचारीहरूले आपसी मिलेमतोमा सफ्टवेयरको तथ्याङ्क लुकाई वास्तविक आम्दानीभन्दा कम रकम बैंकमा जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ।

तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि उनले हिनामिना गरेको सरकारी रकम असुल उपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी बनाइएको छ। अख्तियारले सबै प्रतिवादीहरूसँग बिगो बमोजिमको जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजायको मागदाबी गरेको छ।

माघ २०, २०८२ मंगलबार १८:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।