के गर्दैछन् चुनावी मैदानमा उत्रिएका 'कर्पोरेट' उम्मेदवार ?
काठमाडौँ : आगामी फागुन २१ गते हुने मध्यावधि निर्वाचनका लागि नयाँ पुस्ताका प्रतिनिधिसँगै कर्पोरेट अनुहारहरू समेत विभिन्न दलबाट उम्मेदवार बनेका छन्। प्रमुख दलहरूबाटै एक दर्जन हाराहारीका उम्मेदवारहरू अहिले चुनावी मैदानमा व्यस्त छन्।
कर्पोरेट क्षेत्रको अनुभव भएका उनीहरू नीति निर्माण गर्ने थलोमा पुग्न प्रचार प्रसारमा खटिएका छन्। विशेष गरी नेपाली कांग्रेस र एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विभिन्न व्यवसायमा संलग्नहरूलाई प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बनाएको छ।
कांग्रेसबाट मैदानमा विनोददेखि सुनिलसम्म
नवलपरासी पश्चिम-१ बाट कांग्रेसले पुन व्यवसायी विनोद चौधरीलाई उम्मेदवार बनाएको छ। उनी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उनी वाइवाइसहितका व्यवसायमा संलग्न छन्। उनी अहिले आफ्नो क्षेत्रमा चुनावी प्रचारमा व्यस्त छन्।
उता कांग्रेसबाटै रुपन्देही-२ मा करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका चुन्न प्रसाद शर्मा पनि उम्मेदवार बनेका छन्। कांग्रेसबाटै पर्सा १ मा अनिल रुङ्गटा उम्मेदवार बनेका छन्। उनी विगतमा पनि संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन्।
नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मोरङ ३ मा पुनः चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी पनि निर्वाचन क्षेत्रमै देखिए। ललितपुर १ का कांग्रेसका उम्मेदवार उदय शमशेर राणा पनि व्यावसायिक पृष्ठभूमिका हुन्। रसुवाबाट उम्मेदवार बनेका मोहन आचार्य निर्माण व्यवसायमा संलग्न छन्।
स्याङ्जा-१ मा कांग्रेसबाट उम्मेदवार बनेका भरत ढकाल बैंकर हुन्। उनी मुक्तिनाथ विकास बैंकका पूर्व सिइओ हुन्।
एमालेबाट कांग्रेस छाडेकादेखि होटल व्यवसायीसम्म
कपिलवस्तु-३ मा एमालेबाट उम्मेदवार बनेका वीरेन्द्र कनौडिया हालै कांग्रेस छाडेका हुन्। उनी लुम्बिनी सुगर मिल्सका सञ्चालक हुन्। एमालेबाट मनाङमा उम्मेदवार बनेका पोल्देन गुरुङ होटल व्यवसायी हुन्।
पर्सा-३ मा एमालेबाट रूपेश पाण्डे उम्मेदवार बनेका छन्। उनी पनि विभिन्न व्यवसायमा संलग्न छन्। उनी अहिले पार्टीको अजेण्डासहित निर्वाचन क्षेत्रमा सक्रिय देखिए। एमालेबाट स्याङ्जा १ मा उम्मेदवार बनेका मीनप्रसाद गुरुङ पनि बैंकर हुन्। उनी मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष हुन्।
रास्वपामा पर्यटनदेखि सेकुवासम्मका व्यवसायी
राष्ट्रिय स्वतन्त्र पार्टीले सर्लाही १ बाट नितिमा भण्डारी (कार्की) लाई उम्मेदवार बनाएको छ। उनी बाजेको सेकुवाको सञ्चालिका हुन्। शेयर कारोबारी हरि ढकाल दोस्रो पटक चितवन १ बाट उम्मेदवार बनेका छन्।
रास्वपाले स्याङ्जा १ मा नेपाल पर्यटन बोर्डका पूर्व सिइओ धनञ्जय रेग्मीलाई उम्मेदवार बनाएको छ। काठमाडौं ९ बाट उम्मेदवार बनेका डिपी वैदेशिक रोजगार र रेमिटेन्सको व्यापारमा आबद्ध छन्।
भक्तपुर १ का रास्वपा उम्मेदवार रुकेश रञ्जित पनि व्यवसायी हुन्।
माघ २०, २०८२ मंगलबार १८:१२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।