पुरानो संसद् ब्युँताउने खेलमा नलाग्न रविको चेतावनी

पुरानो संसद् ब्युँताउने खेलमा नलाग्न रविको चेतावनी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने चुनावी अभियानमा फर्किएका छन्।

खुट्टाको चोटका कारण उपचारमा रहेका लामिछानेले मंगलबार साँझ सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै चुनावी अभियानमा फर्किएको जानकारी दिए।

उनले लेखेका छन्, "सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केही आराम पछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदै छु।"

उनले सिंहदरबार बदल्न घण्टीमा भोट मागेको समेत उल्लेख गरेका छन्। पुराना दलहरूले गठबन्धन गरे पनि अहिलेको सुनामी रोक्न नसक्ने उनले जिकिर गरे।

लामिछानेले जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभा ब्युँताउने खेलतिर नलाग्न चेतावनी समेत दिए। तर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको परिणाम जस्तो आए पनि स्वीकार्ने उनको भनाइ छ। 

"अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर," उनले भनेका छन्, "अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं, तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौं।"

 

माघ २०, २०८२ मंगलबार १८:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।