'हिमाली जिल्लामा मौसम प्रतिकूल भए मात्र दोस्रो चरणमा, अरू ठाउँमा फागुन २१ मै चुनाव'

'हिमाली जिल्लामा मौसम प्रतिकूल भए मात्र दोस्रो चरणमा, अरू ठाउँमा फागुन २१ मै चुनाव'

नवलपरासी : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नसर्ने स्पष्ट पार्दै हिमाली जिल्लाहरूमा मौसम प्रतिकूल भएमा मात्र दोस्रो चरणमा मतदान गराउन सकिने स्पष्ट पारिन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका- १ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनिन्, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं।”

कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उनले बताइन्। कार्कीले निर्वाचन हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन्। 

अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरिन्। समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको कार्कीको भनाई छ। 

“शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ,” उनले भनिन्। विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने कार्कीले बताइन्।

माघ २०, २०८२ मंगलबार १७:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।