सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोतका कर्मचारीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित सरकारी सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालयका दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आरोप पत्र अनुसार महोत्तरीको साबिक ईटहर्वाकट्टी गाविस-३ स्थित ५ कट्ठा १२ धुर क्षेत्रफल भएको सरकारी जग्गालाई मालपोत कार्यालय जलेश्वरका कर्मचारीहरूको मिलेमतोमा राजीवकुमार ठाकुरको नाममा दर्ता गरिएको पाइयो। उक्त जग्गालाई कुनै आधार र प्रमाण बिना नै स्रेस्ता सच्याएर व्यक्तिको नाममा कायम गरिएको अनुसन्धानबाट खुल्यो।
मुद्दा दायर गरिएका कर्मचारीहरूमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बा परमानन्द साह र कम्प्युटर अपरेटर रवीन्द्र कुमार सिंह हुन्। उनीहरूले आपसी मिलेमतोमा २०८० साउन ८ गते सरकारी जग्गालाई कम्प्युटर प्रणालीमा अद्यावधिक गरी राजीवको नाममा जग्गाधनी पुर्जा तयार गरेको देखियो।
आयोगले प्रतिवादीहरू परमानन्द र रवीन्द्रसँग जनही १७ लाख २५ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, ९ र ११ बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको छ।
त्यसैगरी, गैरकानूनी रूपमा जग्गा आफ्नो नाममा कायम गराउने राजीवलाई पनि सोही बराबरको १७ लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुख्य अभियुक्त सरहकै सजाय मागदाबी गरिएको छ। रजिष्ट्रेशन प्रयोजनका लागि तोकिएको न्यूनतम मूल्याङ्कनलाई आधार मानी बिगो कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
माघ १९, २०८२ सोमबार १७:४६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।