भारतसँग नखेल्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको आपत्ति, ‘दीर्घकालीन असर’ पर्ने चेतावनी
काठमाडौं : केही दिनपछि टी-२० विश्वकपमा भारतविरुद्धको खेल बहिस्कार गर्ने पाकिस्तान सरकारको निर्णयप्रति अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गम्भीर आपत्ति जनाएको छ।
आईसीसीले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको यस्तो छनोटपूर्ण सहभागिता विश्वव्यापी खेलकुदको मर्म विपरीत भएको बताएको छ।
पाकिस्तान सरकारले आफ्नो टोलीलाई विश्वकपमा भारतसँग बाहेक अन्य टोलीहरूसँग मात्र खेल्न निर्देशन दिएको समाचार सार्वजनिक भएपछि आईसीसीले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो।
आईसीसीले विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा सबै छनोट भएका टोलीहरूले समान शर्तमा र तालिका अनुसार प्रतिस्पर्धा गर्नुपर्ने आधारभूत मान्यता रहेको स्पष्ट पारेको छ।
पाकिस्तानले आफू अनुकुल खेल खेल्ने र नखेल्ने निर्णय गर्नु प्रतियोगिताको निष्पक्षता, प्रतिस्पर्धा र पवित्रतालाई कमजोर बनाउनु हो भनी आईसीसीले टिप्पणी गरेको छ।
राष्ट्रिय नीति नियमनमा सरकारको भूमिकालाई सम्मान गरे पनि, पाकिस्तानको यो निर्णय विश्वव्यापी क्रिकेट र विशेष गरी पाकिस्तानका लाखौं क्रिकेट प्रेमीहरूको हितमा नरहेको आईसीसीले बताएको छ।
आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई कडा चेतावनी दिँदै भनेको छ, ‘हामी आशा गर्छौं कि पीसीबीले यस निर्णयले पाकिस्तानको क्रिकेटमा पार्ने महत्वपूर्ण र दीर्घकालीन असरहरू बारे विचार गर्नेछ।’
आईसीसीले पाकिस्तान आफैं विश्व क्रिकेट इकोसिस्टमको एक सदस्य र लाभग्राही भएको स्मरण गराउँदै यस्तो निर्णयले समग्र प्रणालीलाई असर गर्ने संकेत गरेको छ।
हाल आईसीसीले पीसीबीबाट औपचारिक पत्राचारको प्रतीक्षा गरिरहेको जनाएको छ। साथै, आईसीसीको प्राथमिकता टी-२० विश्वकपको सफल आयोजना रहेको भन्दै पीसीबीले सबै सरोकारवालाहरूको हित संरक्षण हुने गरी मान्य समाधान खोज्ने अपेक्षा व्यक्त गरेको छ।
स्मरण रहोस्, पाकिस्तान सरकारले सुरक्षा र राजनीतिक कारण देखाउँदै फेब्रुअरी १५, २०२६ मा श्रीलंकामा हुने भारतविरुद्धको खेलमा टोली नपठाउने, तर अन्य खेलहरू भने खेल्ने निर्णय गरेको थियो।
माघ १९, २०८२ सोमबार ०७:२२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।