मिसन पुस्तान्तरण-१० : प्रदेशमा चुकेका सस्मितको प्रतिनिधिसभा छिर्ने दाउ

मिसन पुस्तान्तरण-१० : प्रदेशमा चुकेका सस्मितको प्रतिनिधिसभा छिर्ने दाउ

काठमाडौं : सामाजिक सञ्जालमा युवाहरू माझ भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतका विषय हुने बहस सडक आन्दोलन हुँदै चुनावी मतपत्रसम्म विस्तार भएको छ। स्थापित राजनीतिज्ञहरूको कार्यशैलीप्रति असन्तुष्ट 'युवा पुस्ता' नयाँ नेतृत्व र नीतिगत सुधारलाई प्रमुख एजेन्डा बनाएर विकल्प दिन चुनावी मैदानमा छ।

विगतमा नयाँ र योग्य अनुहारको खोजी चर्चाको विषय मात्र बन्ने गरेकोमा, यस पटक 'जेनजी' आन्दोलनले राजनीतिमा युवा पुस्ताको सहभागिता र सक्रियतालाई बढायो। यही बदलिँदो राजनीतिक चेतले युवा मतदातालाई पनि सक्रिय तुल्यायो र निर्वाचनमा युवा उम्मेदवारको उपस्थिति बढायो। यहीबीच स्थापित राजनीतिज्ञहरूको भिड रहने काठमाडौं क्षेत्र नम्बर ५ मा २९ वर्षीय सस्मित पोखरेल 'मिसन पुस्तान्तरण'को एजेन्डासहित चुनावी मैदानमा छन्।

यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी प्रतिस्पर्धामा रहेका पोखरेल यस क्षेत्रका २५ प्रतिस्पर्धीमध्ये सबैभन्दा कम उमेरका उम्मेदवार हुन्। उनी यही क्षेत्रमा जन्मिएर हुर्किएका हुन्। त्यसैले यहाँका स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको उनको दाबी छ। बदलिएको समय र आवश्यकताअनुसार सक्षम, इमानदार र जवाफदेही युवालाई नेतृत्वमा पुर्याउन मतदाताले साथ दिने उनको विश्वास छ।

पोखरेलसँग केवल युवा जोश मात्र होइन, राजनीतिक 'अनुभव' समेत छ। रास्वपाका वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर वालेन्द्र शाह 'बालेन'को सचिवालयमा रहेर काम गरेको उनको अनुभव छ। महानगरमा शैक्षिक क्षेत्रको विकास, व्यवस्थित शहरीकरणका लागि योजना निर्माण लगायतका कार्यमा उनको संलग्नता थियो। त्यसअघि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका रास्वपा पूर्व सांसद विराजभक्त श्रेष्ठको सचिवालयमा रहेरसमेत उनले काम गरेका थिए। 

राजनीतिक सक्रियता र चुनावी अनुभव 

तत्कालीन विवेकशील साझा पार्टीका सक्रिय पोखरेल अहिले रास्वपामा केन्द्रीय सदस्यको भूमिकामा छन्। काठमाडौं महानगरका पूर्व मेयर बालेन शाहसँगै उनी रास्वपामा गएका हुन्। बालेन अगाडि नै वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको विवेकशील साझा र रास्वपाबीच मङ्सिर १४ मा एकता हुँदा त्यसमा उनी थिएनन्।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौं ५ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका सस्मितले १ हजार ५२ मत प्राप्त गर्दै पाँचौं स्थानमा थिए। उनले त्यस बेला 'लालटिन' चुनाव चिन्ह लिएर उम्मेदवार बनेका  थिए। यस पटक रास्वपाको 'क्रेज' र संगठनका कारण आफ्नो जित हुने पोखरेलको दाबी छ।

२०७० र २०७४ को निर्वाचनमा विवेकशीलका संस्थापक उज्वल थापाले यही क्षेत्रबाट उम्मेदवारी दिएका कारण यहाँ वैकल्पिक राजनीतिको एउटा आधार तयार भएको मानिन्छ। त्यस्तै, २०७९ को निर्वाचनमा यस क्षेत्रमा रास्वपाको प्रभाव पनि राम्रो देखिएको थियो। त्यस बेला रास्वपाका उम्मेदवार प्रणयशमशेर राणाले ५ हजार ४७७ मत प्राप्त गर्दा समानुपातिकतर्फ  रास्वपा ११ हजार ६४७ मतसहित पहिलो दल बनेको थियो।

रास्वपाको विगतको यही जनमत, विभिन्न दल र समूहसँगको एकतापछि बनेको माहोलको कारण यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। पोखरेलको तुलनामा प्रतिस्पर्धीहरुको सक्रियता सामाजिक सञ्जालमा कम देखिन्छ। 

अनुभवी शीर्ष नेताहरूसँग प्रतिस्पर्धा 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा विभिन्न दलका २० जना र ५ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।पोखरेलका प्रतिस्पर्धीका रूपमा स्थापित राजनीतिज्ञहरू चुनावी मैदानमा छन्।

एमाले नेता ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा जस्ता प्रभावशाली नेताहरू सस्मितसँगै प्रतिस्पर्धामा छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले नेता पोखरेल यस क्षेत्रबाट छैटौँ पटक प्रतिस्पर्धा गर्दैछन्।

गतिशील लोकतान्त्रिक पार्टीबाट कलाकार निशा अधिकारी र उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ पनि चुनावी दौडमा छन्। निशालाई विवेकशीलको एक समूहले साथ दिइरहेको छ।

त्यसैगरी, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल दोस्रो पटक यही क्षेत्रबाट चुनावी मैदानमा छन्। २०७९ को निर्वाचनमा १५ हजार २६९ मत ल्याएर विजयी भएका पौडेल पूर्वस्वास्थ्यमन्त्री समेत हुन्। उनी दोस्रो पटक आफ्नो पक्षमा नतिजा पार्ने रणनीतिमा छन्।

अर्कातर्फ, गृह जिल्लाबाट पटक पटक हार बेहोरेका गृहमन्त्री समेत भइसकेका राप्रपाका नेता थापा र अन्य केही उम्मेदवारहरू पहिलो पटक यस क्षेत्रबाट चुनावी परीक्षणमा छन्। कलाकार अधिकारीले घरदैलो अभियानमार्फत महिला अधिकार, सामुदायिक स्वास्थ्य र ज्येष्ठ नागरिकको हेरचाहका मुद्दा अगाडि सारेकी छन्। त्यस्तै, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ २०७९ को निर्वाचनमा २ हजार ७६१ मत प्राप्त गरी चर्चामा थिए।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल ७८ हजार ११४ मतदाता छन्। पुराना र स्थापित दलका शीर्ष नेताहरू र वैकल्पिक राजनीतिको जगबाट आएका नयाँ उम्मेदवारहरूबीच यहाँ हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।

मिसन पुस्तान्तरणको यसअघिका सामग्री:

माघ १८, २०८२ आइतबार १२:३५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।