मेची पुलमा मोटरसाइकल ब्यारिकेटमा ठोक्किँदा पछाडि सवार व्यक्तिको मृत्यु, चालक घाइते

मेची पुलमा मोटरसाइकल ब्यारिकेटमा ठोक्किँदा पछाडि सवार व्यक्तिको मृत्यु, चालक घाइते

झापा : झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार मेचीनगर-६ का ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा राति १०ः५५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ कै ३५ वर्षीय काशीनाथ पौडेल घाइते भएका छन्। उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ। मृतक कटुवालको शव मेची आम्दा अस्पतालमै राखिएको छ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ १७, २०८२ शनिबार ०७:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।