जेनजी आन्दोलनमा हिरासतबाट भागेर बनेको लुटेरा समूहको शैली, कानको लोती नै चुँडाल्ने, पैसा नभेटे भक्कु कुट्ने
काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६, मूलपानीमा प्रहरीले बुधवार राति गोली चलाएर संगठित लुटपाटमा संलग्न १० जनालाई पक्राउ गर्यो।
बिहान हिँड्न निस्किएका, रातको समयमा एक्लै हिँड्नेहरूको पैसा, सुनका गहना अनि मोबाइल लुट्न समूह नै सक्रिय रहेको भन्दै प्रहरी कार्यालयहरूमा उजुरी बढेपछि बुधवार बेलुका परिचालित प्रहरी र लुटेरा समूहको जम्काभेट भयो।
एम्बुस थापेर बसेको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली नै चलाएर १० जनालाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार बुधवार बेलुका ६ बजेबाट सुरु गरेको अप्रेसन बिहान ३ बजेसम्म चलेको थियो।
बिहान ३ बजे कागेश्वरी मनहरा नगरपालिका-६ मूलपानीमा समूह भेटिएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थियो। गोली लागेर एकजना घाइते भएका छन्।
अनुसन्धानमा पक्राउ परेको लुटेरा समूहका अधिकांश जेनजी आन्दोलनका क्रममा भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थुनुवाहरू रहेको खुलेको एसएसपी समेत रहेका थापाले जानकारी दिए। आन्दोलनको क्रममा भागेका उनीहरूले समूहले नै बनाएर लुटपाट सुरु गरेका थिए।
थापाका अनुसार भदौ २४ मा प्रहरी हिरासतबाट भागेकाहरूले समूह बनाएर भदौ ३१ बाट लुट्न थालेका थिए। ३१ गते कुमारीगालमा साढे ११ बजेतिर सुनको औँठी र ६४ हजार रुपैयाँ लुटिएको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो। त्यसपछि लगातार लुटपाट भएको उजुरीहरू आउन थाले। काठमाडौँमा मात्रै २२ वटा उजुरी आएपछि संगठित गिरोह नै सक्रिय भएको निष्कर्षसहित प्रहरी खटिएको थियो।
कानकै लोती चुँडाएर लुटपाट
प्रहरीका अनुसार उक्त समूहका सदस्यहरू दिनभरि ट्याक्सी चलाउने र रातको समयमा लुटपाटमा सक्रिय हुन्थे। ९ बजे समूहका सदस्य जम्मा भएर खाना सँगै खाएर राती १२ बजेपछि बिहान ४ बजेसम्म लुट्न सक्रिय हुन्थे।
उनीहरू रातको समयमा ३ वटा मोटरसाइकलमा तीन जनाको दरले बसेर लुट्न हिँड्ने गरेको एसएसपी थापाले बताए। लुटपाट गरेपछि भने उनीहरू आफूले चलाउने ट्याक्सीमा भाग्ने गरेका थिए। यही सूचनाको आधारमा प्रहरीले राती मोटरसाइकल वा ट्याक्सीमा तीन जना हिँड्नेहरू लक्षित गरेर खोज्न थालेका थिए।
विभिन्न ठाउँमा चेक प्वाईट राख्ने गरे पनि उनीहरू फेला परेका थिएनन्। केही घाइतेहरूको कानको लोती नै चुँडाएर गहना लुटेको घटनाहरू आउन थाले। कसैसँग पैसा वा मोबाइल नभेटे समूहले कुटेर जाने गरेको सूचनाहरू आयो। घाइते मध्येका मधु केसीका अनुसार उनका छोरा २३ वर्षीय ध्रुव केसीलाई मरणासन्न हुने गरी कुटेका थिए।
“छोरा साथीको जन्मदिनमा गएको थियो। बेलुका फोन गर्दा साथीकोमा छु भनेको त घर आउँदा मुखमा काटेको थियो। मुखै फुलेको थियो। ४ दिनसम्म हेल्पिङ्ग हेन्ड्स अस्पतालमा राख्दा पनि नभएपछि न्युरो अस्पतालमा थप ६ दिन राखेर उपचार गरेपछि मात्र ठिक भयो” उनले भनिन्।
जेनजी आन्दोलनका फरार समूह नाइके
प्रहरीका अनुसार समूहको मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ हुन्। प्रहरीमा तामाङको चोरी, लुटपाट र डकैतीको आपराधिक रेकर्ड रहेको एसएसपी थापाले बताए।
प्रहरीमा रहेको रेकर्ड अनुसार विनय २०७९ सालमा पहिलो पटक चोरीमा समातिएका थिए। त्यसपछि २०८२ मा डाँका चोरी गरेको भन्दै प्रहरी हिरासतमा रहेको बेला उनी जेन- जी आन्दोलनको मौका छोपेर महाराजगन्ज प्रहरी वृत्तको हिरासतबाट भागेका थिए।
हिरासतबाट भागेपछि उनले अन्य केटाहरू जम्मा पारेर लुटपाटको योजना बनाएका थिए। समूहलाई उनले नै परिचालन गर्ने गरेको एसएसपी थापाले बताए।
त्यस्तै, ट्याक्सी डाईभर रहेका २४ वर्षीय आयन माझीको पनि प्रहरीमा आपराधिक रेकर्ड भेटियो। प्रहरीका अनुसार २०७९ पुस २६ गते भक्तपुरमा उनी विरुद्ध डाँका चोरीको मुद्दा छ।
लुटपाटमा उनले भूमिका मोटरसाइकलको पछाडि बस्ने, सर्वसाधारणको अवस्था बुझ्ने रहेको थियो। दिउस उनी प्राइभेट गाडी चलाउँथे। प्रहरीले समाएकोमध्ये सबिन माझी २०७९ मा डाँका चोरी, २०८० मा चोरीमा समातिएका थिए। लुटपाटमा उनी ट्याक्सी र बाइक चलाउँथे।
२३ वर्षीय मनिष रसाइली लुटेको सुनका गहना व्यवस्थापन गर्थे। खोटाङका उनी मोटरसाइकल चलाउने देखी शरीरबाट सुन लुछ्नेसम्मको काम गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।
पेमा तामाङ २०७८ सालमा चोरी र २०७९ सालमा डाँका चोरीमा समातिएका थिए। उनी बाइकको पछाडि बसेर लुट्ने गरेका थिए। २० वर्षीय सलोन तामाङ आलमोनियम पसलमा काम गर्थे। राती समूहमा लुट्न हिँड्थे। अन्यमा राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।
प्रहरीको आपराधिक रेकर्ड अनुसार राजीव २०८२ मा मोटरसाइकल चोरी र डाँका चोरीमा समातिएका थिए। विशाल २०८२ मा डाँका चोरीमा समातिएका थिए। फुर्वा २०७२ सालमा लागू औषध कारोबार र डाँका चोरीमा संलग्न भएका व्यक्ति हुन्।
उनीहरू मोटरसाइकलको पछाडि बसेर सुन लुट्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको हो। विदुर लुटेर ल्याएको सुन किन्ने र पगालेर बेच्ने गरेको आरोपमा पक्राउ परेका हुन्। उनी सुनचाँदी कामदार हुन्। प्रहरीका अनुसार उनीहरूले लुटपाटमा प्रयोग गरेको ६ वटा मोटरसाइकल, एउटा कार र एउटा ट्याक्सी नियन्त्रणमा लिइएको छ। एसएसपी थापा सो समूहमा अन्य समेत संलग्न रहेको हुनसक्ने देखिएपछि खोजी सुरु गरिएको बताउँछन्।
माघ १५, २०८२ बिहीबार २१:०७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।