रास्वपाद्वारा डीपीको संयोजकत्वमा ५१ सदस्यीय ‘संघीय निर्वाचन सम्पादन समिति’ गठन

रास्वपाद्वारा डीपीको संयोजकत्वमा ५१ सदस्यीय ‘संघीय निर्वाचन सम्पादन समिति’ गठन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २०८२ साल फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ‘संघीय निर्वाचन सम्पादन समिति’ गठन गरेको छ।

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो।

अब्बल सरकार निर्माण गरी देशको विकास र आन्तरिक तथा बाह्य सबलता अभिवृद्धि गर्न स्पष्ट दुई तिहाइ मत प्राप्त गर्ने उद्देश्यसहित सो समिति गठन गरिएको रास्वपाले जनाएको छ।

उक्त ५१ सदस्यीय समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्। समितिले सातै प्रदेशमा ‘प्रदेश समन्वय सचिव’ तोकेको छ भने विभिन्न सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ।

प्रदेश समन्वय सचिवहरूको जिम्मेवारीमा कोशी प्रदेशका लागि उपेन्द्र पाण्डे, मधेश प्रदेशका लागि डा. नमिता यादव, बागमती प्रदेशका लागि सरिता ज्ञवाली रहेका छन्।

यसका अलावा, गण्डकी प्रदेशका लागि तोयराज अधिकारी, लुम्बिनी प्रदेशका लागि अर्जुन अधिकारी, कर्णाली प्रदेशका लागि श्यामबाबु गौतम र सुदूरपश्चिम प्रदेशका लागि डा. कृष्ण भेटुवाल रहेका छन्।

तीन विशेष उपसमिति गठन
संघीय निर्वाचन सम्पादन समितिले केन्द्रीय कार्यालयमा डेक्स सञ्चालन गर्न तीनवटा विशेष उपसमितिहरू समेत गठन गरेको छ।

जस अनुसार पार्टी संगठन तथा उम्मेदवारहरूको समन्वय गर्नका लागि रामकृष्ण भट्टराईको संयोजकत्वमा आन्तरिक समन्वय उपसमिति गठन गरेको छ।

सुरक्षा तथा नेपाल सरकारका निकायहरूसँग समन्वय गर्नका लागि विष्णु कुमार श्रेष्ठको संयोजककत्वमा प्रशासनिक समन्वय उपसमिति र सूचना संकलन गरी केन्द्रीकृत गर्ने तथा सञ्चारगृहहरूसँग समन्वय गर्नका लागि प्रतिभा रावलको संयोजकत्वमा सञ्चार समन्वय उपसमिति छ।

सञ्चार समन्वय उपसमिति सदस्यहरूमा असिम साह, विरेन्द्र कुमार मेहता र मिलन लिम्बु रहेका छन्।

साथै रास्वपाले केन्द्रमा मात्र नभई प्रदेश र जिल्ला तहमा पनि निर्वाचन सम्पादन समिति गठनको खाका तयार पारेको छ।

जसअनुसार प्रदेश तहमा प्रदेश सभापति वा उनले तोकेको व्यक्तिको संयोजकत्वमा २१ सदस्यीय समिति, जिल्ला तहमा जिल्ला सभापति वा उनले तोकेको व्यक्तिको संयोजकत्वमा १५ सदस्यीय समिति र निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र समिति संयोजक वा प्रत्यक्ष तर्फको उम्मेदवारले तोकेको व्यक्तिको संयोजकत्वमा समिति गठन गरिने प्रचार प्रतिभा रावलले जानकारी दिइन्।

माघ १५, २०८२ बिहीबार १०:५८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।