प्रेमीद्वारा युवतीको हत्या, कारण ‘प्रेम सम्बन्ध र शंका’
बाँके : मामाघर जान भनेर घरबाट निस्केकी एक युवतीको बीभत्स हत्या भएको छ। बाँकेको डडुवा गाउँपालिका–३, बनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको शव घर नजिकैको पुरानो इनारमा फेला परेको हो। प्रहरीले हत्याको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरेको छ।
माघ १ गते बिहान बनकट्टीस्थित राम फेरन कुर्मीको घरपछाडि रहेको प्रयोगविहीन इनारमा स्थानीयले सडिसकेको अवस्थामा शव देखेका थिए। प्रहरीले शव निकालेर अनुसन्धान गर्दा कपडा र गहनाका आधारमा मृतकको पहिचान बसन्ती गोडियाको रूपमा भएको थियो।
भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार युवतीको टाउको र घाँटीमा धारिलो हतियारले प्रहार गरिएको पाइएको छ। प्रहरीका अनुसार बसन्ती करिब एक महिनाअघि नै भारतको नानापारास्थित मामाघर जान्छु भनी घरबाट निस्किएकी थिइन्, तर उनी त्यहाँ पुगेकी थिइनन्।
हत्याको कारण : प्रेम सम्बन्ध र शंका
बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, अनुसन्धानका क्रममा मृतक बसन्तीको छिमेकी २५ वर्षीय राकेश बर्मासँग एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्यो। प्रहरी हिरासतमा रहेका बर्माले आफ्नो अपराध स्वीकार गर्दै हत्याको कारण 'शंका' रहेको बताएका छन्।
प्रहरीका अनुसार बसन्तीको अन्य पुरुषसँग पनि सम्बन्ध रहेको शंकामा उनीहरूबीच विवाद भएको थियो। घटनाको रात ११ बजेतिर राकेशले बसन्तीलाई सल्लाह गर्ने बहानामा घर नजिकैको लाहारी बारीमा बोलाएका थिए। त्यहीँ विवाद बढ्दै गएपछि टाउकोमा प्रहार गरी उनको हत्या गरेर शव इनारमा फालेको अनुसन्धानबाट खुलेको छ।
माघ १४, २०८२ बुधबार १७:२८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।