मुगुमा फेरि हिमपात, सेताम्मे भयो बस्ती (चार तस्बिर)

मुगुमा फेरि हिमपात, सेताम्मे भयो बस्ती (चार तस्बिर)

मुगु : हिमाली जिल्ला मुगुमा मंगलबार रातिदेखि पुनः हिमपात भएको छ। लामो समयको खडेरीपछि गत शुक्रबार र शनिबार परेको बाक्लो हिउँ पग्लिन नपाउँदै गए रातिदेखि फेरि हिमपात थपिएको हो।

जिल्लाका प्रमुख पर्यटकीय क्षेत्र रारासहित मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घट्टलेख, डोल्फू, मुगु, चितै, श्रीकोट र सोरुकोट लगायतका उच्च बस्तीहरूमा भारी हिमपात भएको छ।

हिमपातले वनपाखा र बस्तीहरू पूरै सेताम्मे देखिएका छन्।

दोस्रो पटकको हिमपातसँगै बढेको अत्यधिक चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसोका कारण वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई बढी समस्या परेको छ भने स्थानीयलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।

उच्च लेकाली बस्तीका विद्यालयहरूको पठनपाठन समेत प्रभावित बनेको छ।

यस्तै, प्रतिकूल मौसमका कारण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा पनि असर पुगेको छ। बाक्लो हिउँ र चिसोले गर्दा उम्मेदवारहरूलाई मतदाताको घरदैलोमा पुग्न कठिनाइ भएको छ।

जनजीवन कष्टकर भए पनि लामो खडेरीपछि भएको लगातारको वर्षा र हिमपातले किसानलाई भने ठूलो राहत मिलेको छ।

समयमै हिउँ पर्दा जौ, गहुँबाली, फलफूल र लेकाली जडीबुटी सप्रिने भन्दै मुर्मा गाउँका किसानहरूले खुसी व्यक्त गरेका छन्।

माघ १४, २०८२ बुधबार १०:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।