बैतडी र बागलुङमा भारी हिमपात : जनजीवन प्रभावित, किसान भने उत्साहित
बैतडी : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बैतडी र बागलुङका उच्च पहाडी भेगमा आज भारी हिमपात भएको छ।
हिमपातका कारण चिसो बढेर जनजीवन प्रभावित भए पनि हिउँदे बाली सप्रिने आशामा किसानहरू भने उत्साहित भएका छन्।
बैतडीका उच्च लेकाली क्षेत्रहरू सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा आज बिहानैदेखि बाक्लो हिउँ परेको छ।
हिमपातसँगै बढेको अत्यधिक चिसोले जिल्लाको जनजीवन कष्टकर बनेको छ। यद्यपि, समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदे बाली सप्रिने भन्दै स्थानीय किसान राजबहादुर टेरले खुसी व्यक्त गरे।
यस्तै, बागलुङको ढोरपाटन शिकार आरक्षसहित उच्च पहाडी क्षेत्रमा पनि गए रातिदेखि नै भारी हिमपात भइरहेको छ। हिमपातले ढोरपाटन उपत्यका, निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्र सेताम्मे बनेका छन्।
अत्यधिक चिसोका कारण धारा तथा पाइपमा पानी जम्न थालेको छ भने बाक्लो हिउँका कारण स्थानीयलाई घरबाहिर निस्कन र हिँडडुल गर्न कठिनाइ भएको छ।
जनजीवन प्रभावित भए पनि लामो समयपछि परेको हिउँले खेतीपाती राम्रो हुने विश्वास यहाँका किसानले लिएका छन्।
माघ १४, २०८२ बुधबार ०७:५५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।