नवलपरासी-२ मा कँडेलको उम्मेदवारी रद्द, थापाको कायम

नवलपरासी-२ मा कँडेलको उम्मेदवारी रद्द, थापाको कायम

काठमाडौं : नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोही क्षेत्रमा कांग्रेसकै अर्का उम्मेदवार भीमबहादुर थापा (भरत) को उम्मेदवारीलाई आधिकारिकता दिँदै कँडेलको मनोनयन रद्द गरेको हो।

दुई जना मध्ये पहिले उम्मेदवारी मनोनयन दर्ता गर्नेलाई आधिकारिकता दिइयो। थापाले कँडेलभन्दा पहिले मनोनयन दर्ता गराएका थिए। कँडेलले ढिलो गरी दर्ता गराएका कारण उनको उम्मेदवारी खारेज गरेको हो। 

क्षेत्र नम्बर २ मा कांग्रेसका थापा र कँडेलले टिकट ल्याएर मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो। आधिकारिकता पाएका भीमबहादुर थापा कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य तथा सुनवल नगरपालिकाका पूर्व मेयर हुन्। 

उम्मेदवारी रद्द भएका कँडेल कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री हुन्। उनले यसअघि ६ पटक निर्वाचन लडिसकेका छन्, जसमा २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा उनी विजयी भएका थिए भने २०६४, २०७० र २०७९ को निर्वाचनमा पराजित भएका थिए। उनी सातौं पटक उम्मेदवार हुने तयारीमा थिए। 

माघ ८, २०८२ बिहीबार २१:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।