कांग्रेसलाई फुटबाट जोगाउन 'मध्यमार्गी' धार, निर्वाचनमा एकढिक्का हुन शेखरको आह्वान
मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्।
बिहीबार मोरङ- ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताए।
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए। उनले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रस्टाउँदै भने, "म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो।"
विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै उनले भने, "यो पार्टीको एउटा प्रक्रिया हो। आज डिला (डा डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिराछौं। त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं।"
जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रित रहेको कोइरालाले बताए।
उनले भने, "सांसद रहँदा संसद् भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहेँ। संसद् भित्र र बाहिर लडिरहेँ।" कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको बताए। पार्टी फुटाएर हिँड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको उनको बताए।
पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको भएको हुँदा त्यस अनुरूप आफूले बीचको बाटो समातेको उनले बताए। कोइरालाले हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रित हुन जोड दिए। निर्वाचनले मुलुकलाई निकास दिने बताएका उनले यस पटक कांग्रेसलाई जिताउन सबैले एकढिक्का भएर भूमिका खेल्नुपर्ने बताए।
माघ ८, २०८२ बिहीबार १७:५३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।