जेनजी अभियन्ता भन्छन् : निर्वाचनलाई सुशासनको प्रस्थानविन्दु बनाऔं
काठमाडौं : जेनजी अभियन्ताले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन पुरानै प्रवृत्तिको निरन्तरता नभई 'विधिको शासन' स्थापित गर्ने अवसरका रूपमा हेरेका छन्। निर्वाचनले पुरानो कार्यशैली त्याग्न र युवाहरूको आकांक्षालाई सम्बोधन गर्ने उनीहरूको विश्वास छ।
लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता सुदृढीकरणका लागि निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उनीहरूको भनाई छ।
जेनजी अभियन्ता सुप्रिया शाहीले सचेत मतदाताको सक्रिय र अर्थपूर्ण सहभागिताबाट स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न भई सक्षम र जिम्मेवार जनप्रतिनिधि चयन हुनेमा विश्वास व्यक्त गरिन्। उनले भनिन्, “जेनजी पुस्ताले देशमै अवसर खोजिरहेका छन्, निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शिता र जबाफदेहितासहितको शासकीय अभ्यास गर्नुपर्छ।”
अभियन्ता अर्णव चौधरीले युवापुस्ताले उठाउँदै आएका मुद्दालाई निर्वाचनपछि बन्ने सरकारले आत्मसात् गर्ने विश्वास व्यक्त गरे। उनले निष्पक्ष, शान्तिपूर्ण र विविधताको सम्मान हुने गरी व्यापक जनसहभागितासहित निर्वाचन सम्पन्न गर्न सम्पूर्णले सहयोग गर्नुपर्नेमा जोड दिए।
राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने र समानुपातिक निर्वाचनमा संविधानको मर्मअनुसार उम्मेदवार छनोट गर्नुपर्ने चौधरीको भनाइ छ। निर्वाचनपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, आधुनिक शिक्षा प्रणाली, लैङ्गिक समानता, सामाजिक न्याय, वातावरण संरक्षण, स्वदेशमै रोजगारी र ‘डिजिटलाइज्ड’ सार्वजनिक सेवामा ध्यान दिनुपर्ने उनले बताए।
जेनजी फ्रन्टका सुदूरपश्चिम प्रदेशका संयोजक नवीन विष्टले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले भने, “देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्ने र जेनजीका माग पूरा हुनुपर्छ। जेनजी जनआन्दोलन प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ।”
माघ ८, २०८२ बिहीबार १५:२६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।