नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज इजरायलबाट मर्मत भएर फर्कियो

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज इजरायलबाट मर्मत भएर फर्कियो
फाइल तस्बिर

काठमाडौं : लामो समयदेखि इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मत सम्पन्न भई नेपाल फर्किएको छ। इन्जिन जडान पश्चात उक्त जहाजले नियमित उडान सुरु गरेको निगमले जनाएको छ।

निगमका प्रवक्ता देवेन्द्र पुनद्वारा जारी विज्ञप्ति अनुसार, इजरायलस्थित इजरायल एरोस्पेस इन्डष्ट्रीमा मर्मतका लागि राखिएको उक्त जहाज १९ जनवरी २०२६ मा तेल अभिभबाट दुबई हुँदै काठमाडौं आइपुगेको हो।

जहाजको इन्जिन मर्मत र भाडा खर्चको विषयमा लामो समयदेखि विवाद र छलफल चलिरहेको थियो। निगम र आईएआईबीच ‘मेन्टेनेन्स विथ लिज सपोर्ट’ सम्झौताको आधारमा वार्ता भई समझदारी कायम भएको निगमले जनाएको छ।

निगमका कार्यकारी अध्यक्ष अमृतमान श्रेष्ठ र उच्च व्यवस्थापनको निरन्तर प्रयासस्वरुप विगतको विवाद टुङ्गिएको छ। यस क्रममा १२ महिनाको इन्जिन भाडा र इन्जिन जडान बापतको खर्च रकम मिनाहा भएको निगमले जानकारी दिएको छ। जहाजमा निगमको आफ्नै इन्जिन जडान गरेर ल्याइएको छ।

न्यारोबडी ९एन-एकेएक्स जहाज काठमाडौं फर्किएर नियमित उडान तालिकामा समावेश भएसँगै अब निगमका चारवटै जहाज (दुई न्यारोबडी र दुई वाइडबडी) ले नियमित उडान भरिरहेको निगमले स्पष्ट पारेको छ।

माघ ७, २०८२ बुधबार १०:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।