लुम्बिनीमा चुनावी सरगर्मी: 'हेभिवेट' नेताहरूबीच रोचक प्रतिस्पर्धा

लुम्बिनीमा चुनावी सरगर्मी: 'हेभिवेट' नेताहरूबीच रोचक प्रतिस्पर्धा

बुटवल : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। एमाले, नेपाली कांग्रेस, नेकपा, रास्वपा लगायतका दलहरूले आफ्ना प्रभावशाली एवं 'हेभिवेट' नेताहरूलाई चुनावी मैदानमा उतारेका छन्।

पुराना दलहरूले अधिकांश स्थापित अनुहारलाई नै दोहोर्याएका छन् भने नयाँ दलहरू पुरानाको 'गढ' भत्काउने रणनीतिका साथ मैदानमा छन्। यसपटक परम्परागत शक्तिहरू एमाले, कांग्रेस र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको 'क्रेज' ले गर्दा लुम्बिनीको चुनावी समीकरण फेरिएको विश्लेषण गर्न थालिएको छ।

यस पटकको निर्वाचनमा मतदाताले पुराना नेताहरूको पटक-पटकको परीक्षणलाई अनुमोदन गर्छन् वा नयाँ शक्तिलाई अवसर दिन्छन् भन्ने विषय निकै चासोका साथ हेरिएको छ। विशेषगरी युवा मतदाताको झुकाव रास्वपा र स्वतन्त्र उम्मेदवारतर्फ देखिनुले पुराना दलहरूलाई आफ्नो साख जोगाउन कठिन पर्ने देखिएको छ।

रुकुम पूर्व र रोल्पा: माओवादीको आधार क्षेत्रमा प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' यसपटक सुरक्षित क्षेत्रको खोजी गर्दै रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। २०६४ मा रोल्पाबाट संसदीय यात्रा सुरु गरेका प्रचण्ड १८ वर्षपछि पुनः आफ्नो पुरानो आधार क्षेत्र फर्किए।

प्रचण्डको विरुद्धमा एमालेका लीलामणि गौतम र प्रलोपाका सन्दीप पुन प्रतिस्पर्धामा छन्। कांग्रेसले यहाँ कुसुमदेवी थापालाई उठाएको छ। रुकुममा नेकपाबाट वर्षमान पुन मैदानमा छन्। उनको विरुद्ध एमालेका गोकुलप्रसाद घर्ती, कांग्रेसका अर्थविद् डा. सुदनकुमार ओली र रास्वपाका बालाराम थापाले चुनौती पेस गरेका छन्।

गुल्मी र अर्घाखाँची: पुरानै प्रतिद्वन्द्वीबीच भिडन्त

गुल्मी क्षेत्र नं. १ मा पुनः एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले भण्डारी विजयी भएका थिए। यसपटक यहाँ रास्वपाबाट युवा उम्मेदवार सागर ढकालले प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाउने प्रयास गरेका छन्।

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट र कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। अर्घाखाँचीमा एमालेका पीताम्बर भुसाल र कांग्रेसका विष्णुप्रसाद खनालबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

रूपन्देही: पन्ध्रै निर्वाचन क्षेत्रमा उत्साह

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सबैभन्दा बढी चासो क्षेत्र नम्बर २ मा छ। यहाँ एमाले उपाध्यक्ष विष्णु पौडेल चुनावी मैदानमा छन्। उनलाई कांग्रेसका चुन्नुप्रसाद पौडेल र रास्वपाका सुलभ खरेलले टक्कर दिँदैछन्।

पौडेलको पहिलो चरणमा यहाँ नाम थिएन। निर्वाचन क्षत्र छाड्न खोजेपछि चर्को विरोध भयो र उनी पून फर्किए। यसैबाट यो क्षेत्र उनका लागि त्यति सहज देखिन्न।

क्षेत्र नं. ३ मा एमालेका वासुदेव घिमिरे र राप्रपाका गौरव बोहरा (स्व. दीपक बोहराका छोरा) बिच प्रतिस्पर्धा हुने सम्भावना छ। क्षेत्र नम्बर ५ मा कांग्रेसका भरतकुमार शाह र एमालेका खिमलाल भट्टराईबिच प्रतिस्पर्धा हुँदैछ।

दाहाल-नेपाल समूह र अन्य जिल्लाको अवस्था

दाङ क्षेत्र नं. २ मा एमाले महासचिव शंकर पोखरेल पुनः चुनावी मैदानमा छन्। उनलाई नेकपाका निर्मल आचार्य र कांग्रेसका किरणकिशोर घिमिरेले चुनौती दिएका छन्। क्षेत्र नं. १ मा मेटमणि चौधरी र रेवती रमण घिमिरेबीच प्रतिस्पर्धा हुँदा पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्युठानमा  एमालेका सूर्य थापा र कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। नवलपरासी (पश्चिम) क्षेत्र नं. १ मा विनोद चौधरी र हृदयेश त्रिपाठीबिच पुनः प्रतिस्पर्धा हुँदैछ।

जहाँ हुनेछ रोचक प्रतिष्पर्धा

दाङ-२ मा शंकर पोखरेल, रुपन्देही-२ मा विष्णु पौडेल र गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको भिडन्त रोचक हुने देखिन्छ। रुपन्देही ४ मा प्रमोद यादव र बाँके २ मा इश्तियाक राई एमाले प्रवेश गरेलगत्तै उम्मेदवार बनेका छन्। यी दुबै एमालेका आगन्तुक उम्मेदवार हुन्।

रास्वपाबाट सागर ढकाल (गुल्मी १) र डा. लेखजंग थापा (रुपन्देही ३) मा उम्मेदवार बनेका छन्। डडेल्धुरा भन्दै सागर गुल्मी झरेका हुन्। लेखजंग उपनिर्वाचनमै उम्मेदवार हुने तयारीमा थिए। उनी त्यही समयमा विवादमा तानिएका थिए।

माघ ७, २०८२ बुधबार ०२:५३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।