हार्ने डर कि त्याग ! : चितवन-३ मा विक्रम पाण्डे ब्याक, टिकट दिए दीपकलाई
चितवन : २०७९ को निर्वाचनमा चितवनमा चर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहर थेग्दै चितवन-३ बाट प्रतिनिधि सभाको सदस्य बन्न सफल विक्रम पाण्डे फागुन २१ को निर्वाचनका लागि पुरानै क्षेत्रबाट सिफारिस भएका थिए।
पार्टीको सिफारिस अनुसार उम्मेदवारी दर्ता गर्न उनी मंगलबार बिहानै तयार समेत भएका थिए। मनोनयन पत्र दर्ता गर्न जाँदा पार्टीको प्रभाव देखाउन पाण्डेको निवासमा कार्यकर्ता आउन थालिसकेका थिए। प्रचार सामग्री तयार थिए।
तर, अन्तमा उनले राप्रपाका कार्यकर्ताहरूलाई सर्प्राइज दिँदै उम्मेदवारी दर्ताबाट ब्याक भए। उनले अब युवालाई अगाडि सार्ने भन्दै पार्टीको भरतपुर महानगर कमिटी अध्यक्ष दीपक थापा मगरलाई अगाडि सारे। उनको निर्णयले पार्टीपङती छक्क पर्ने नै भयो। मंगलबार मनोनयन पत्र दर्ता गर्नै पर्ने भएकाले पार्टीले पाण्डेको नाम काटेर दीपकको नाममा पत्र बनायो। पाण्डेको साटो दीपकले उम्मेदवारी दर्ता गरे।
युवाको बहाना तर पराजित हुने भय
पाण्डेले अब युवालाई मौका दिने भने पनि अन्तिम समयमा उनले गरेको निर्णयको कारक पराजित हुने भय प्रस्ट देखियो। उम्मेदवारका लागि तयार नभएको भए उनले पहिल्यै घोषणा गर्थे। त्यो पनि गरेनन्। पार्टीले टिकट दिँदा पनि अस्वीकार गरेनन्। मंगलबार उनी उम्मेदवारी दिने तयारीमै थिए। तर एकाएक ब्याक भए।
यसको कारण देखियो नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार। चितवन–३ मा यस अगाडि काठमाडौँ-२ बाट निर्वाचित सोबिता गौतम गइन्। उनी चितवन जाँदा यता काठमाडौंमा पार्टीले राप्रपाको प्रदेश सांसदलाई टिकट दिन पुग्यो।
भरतपुर महानगरकी मेयर रेनु दाहाल नेपाली कम्युनिस्ट पार्टीबाट क्षेत्र नम्बर ३ मा उम्मेदवार बनिन्। महानगरको दोस्रो कार्यकाल बिचैमा छाडेर उम्मेदवार बनेकी उनको दल कमजोर देखिए पनि व्यक्तिगत रूपमा उनी बलियो देखिएकी छिन्।
भरतपुर क्षेत्रमा गरेको विकास र माडीसहितको क्षेत्रमा पार्टीको प्रभाव उनको बलियो पक्ष देखिन्छ। नेकपा अनि रास्वपा दुबैबाट बलियो उम्मेदवार छन् नै एमालेबाट शंकर थपलिया र कांग्रेसबाट टेकप्रसाद गुरुङ आफ्नो पुरानो साख फर्काउने दाउमा उम्मेदवार बनेका छन्।
कांग्रेस-एमाले भन्दा पनि चितवन ३ मा मुख्यगरी दुई महिला उम्मेदवारबीच टक्कर हुने देखेपछि हार्नु भन्दा मैदान छाड्नु ठिक भनेर पाण्डे ‘उदार’ देखिँदै प्रतिस्पर्धाबाट पछि हटे।
माघ ६, २०८२ मंगलबार २१:३९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।