सर्वोच्चको आदेश आइसक्दा पनि गौर हत्याकाण्डका आरोपीलाई एमालेको रेड कार्पेट
काठमाडौं : शनिबार बसेको सचिवालय बैठकबाट एमालेले रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि अजय गुप्तालाई उम्मेदवार बनाउने निर्णय गर्यो।
बीभत्स ‘गौर हत्याकाण्ड’ को अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको गम्भीर परिस्थितिमा एमालेले सोही घटनाका मुख्य आरोपितमध्येका एक गुप्तालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि जिल्ला कमिटीले उनको नाम एकल सिफारिस गरेकोमा केन्द्रले त्यसलाई अनुमोदन गरेको हो।
गुप्ताको नाम २०६३ चैत ७ गते भएको गौर हत्याकाण्डमा प्रमुखताका साथ जोडिएको छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र पीडितहरूले प्रहरीमा दिएको जाहेरीमा उनलाई दोषीको रूपमा किटानी गरिएको छ।
उक्त घटनामा घाइते भएका त्रिभुवन साहलगायतले जिल्ला प्रहरी कार्यालय रौतहटमा गुप्तासहित एक सय १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
आयोगको प्रतिवेदनमा जाहेरी दरखास्तमा नाम उल्लेख भएका र आयोगले दोषी औंल्याएका व्यक्तिहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने सुचीको पहिलो नम्बरमै ‘अजय गुप्ता, गौर नपा वडा नं १, रौतहट’ भनी उल्लेख छ।
गौर हत्याकाण्ड भएको करिब १८ वर्ष बितिसक्दा पनि प्रहरीले आरोपितहरूलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै पीडित परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोही रिटको सुनुवाइ गर्दै गत भदौ २ गते सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय रौतहटलाई घटनामा मुछिएका सबैमाथि अनुसन्धान गर्न परमादेश जारी गरेको थियो।
अदालतको यो आदेशसँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रभु साह लगायत अजय गुप्ता पनि छानबिनको दायरामा आएका छन्। अदालतले अनुसन्धान गर भनी आदेश दिएकै समयमा एमालेले उनलाई टिकट दिएर चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
अजय गुप्ता यसअघि पनि एमालेकै टिकटमा सोही क्षेत्रबाट चुनाव लडेका थिए। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पराजित भएका थिए।
त्यसबेला माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी हुँदा गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए। गुप्ता त्यसअघि गौर नगरपालिकाका मेयर समेत रहिसकेका छन्।
गौर घटनाबारे उकेराको विशेष रिपोर्ट:
माघ ५, २०८२ सोमबार ११:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।