‘कलम’ बलियो कि ‘तरबार’?, निर्णयको जिम्मा गोर्खा-२ का मतदातालाई

‘कलम’ बलियो कि ‘तरबार’?, निर्णयको जिम्मा गोर्खा-२ का मतदातालाई

काठमाडौं : वादविवाद प्रतियोगितामा पक्ष र विपक्षमा बहसका लागि प्राय कमै छुट्ने शीर्ष हो कलम बलियो कि तरबार। कलमलाई शिक्षाको संकेतको रूपमा अनि तरबारलाई हिंसाको प्रतीकको रूपमा लिएर दुवै पक्षले बहस गर्थे। विजेता तर्ककै आधारमा छानिन्थे।

फागुन २१ को निर्वाचनमा वादविवादमा हैन निर्वाचनको मैदानमा यस्तै दृश्य देखिने भएको छ गोर्खा-२ निर्वाचनमा। अहिलेसम्म सार्वजनिक भएका उम्मेदवारहरूको सूचीबाटै गोर्खा-२ मा अब मतदाताले तर्कबाट हैन मत हालेर कमल बलियो कि तरबार भन्ने पुष्टि गर्नुपर्ने चुनौती आएको छ।

चुनाव नलड्ने घोषणा गरे पनि पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई पुनः गोरखा–२ बाटै उम्मेदवार बन्ने भएका छन्। उनले यस अगाडि अब नयाँ पुस्तालाई अगाडि बढाउने भन्दै आफू उम्मेदवार नबन्ने बताएका थिए।

नेपाली राजनीतिमा आफ्नो अडानमा रहने नेताको छवि बनाएका बाबुरामले आइतबार सामाजिक सञ्जाल फेसबुकमा "देशको अन्योलपूर्ण राजनीतिक अवस्था र मतदाताको जोडबलका कारण" उम्मेदवार बन्न लागेको लेखे।

उनी २०७४ मा गोर्खा २ बाटै उम्मेदवार बनेर जितेका थिए। तर २०७९ मा आएर उनले सो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका थिए। माओवादीबाट काठमाडौँ-७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराई उम्मेदवार बनेपछि बाबुरामले छोरीको राजनीतिक भविष्यका लागि प्रचण्डसँग क्षेत्र साटेको आरोप समेत लागेको थियो।

छोटो समयका लागि प्रधानमन्त्री भएका बाबुरामको नाम बालुवाटार सरकारी जग्गा व्यक्तिको नाममा गर्ने निर्णयमा जोडिए पनि उनी नेपाली राजनीतिमा सक्रिय नेताहरूमध्ये सादगी र अध्ययनशील नेताका रूपमा परिचित छन्।

त्यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले विद्यार्थी नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ। उनी पनि तत्कालीन माओवादीको भूमिगत राजनीतिमा सक्रिय थिए भने विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन्। उनी अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व अध्यक्ष समेत हुन्।

पार्टीभित्र अध्यक्ष प्रचण्डका कतिपय निर्णयमाथि प्रश्न उठाउने हिम्मत गर्ने कमै नेताको सूचीमा पर्ने उनको छवि वैचारिक नेताको छ।

आन्तरिक विवादमा फसेको कांग्रेसले आइतबार साँझसम्म कुन क्षेत्रबाट को उम्मेदवार हुने टुङ्ग्याउन सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने गोर्खा-२ बाट पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। तर औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।

एमालेको दाउ : आए आँप, गए झटारो
आफ्नो कमजोर उपस्थिति रहेको गोर्खा-२ का लागि यस पटक एमालेले उम्मेदवार बनायो मिलन गुरुङ (चक्रे मिलन)। गत निर्वाचनमा पनि गोर्खा-२ बाट उनको नाम सिफारिसमा परेको थियो। यस पटक पनि उनको नाम सिफारिस भयो। तर राजनीतिक भन्दा पनि आपराधिक पृष्ठभूमिका उनले गत वर्ष टिकट पाएनन्।

जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा हुन लागेको मध्यावधि निर्वाचनमा एमालेले बौद्धिक नेताहरूसँग प्रतिस्पर्धा गर्न तरबार अर्थात् आपराधिक पृष्ठभूमिका चक्रेलाई छान्यो। एमालेले गोर्खा २ का लागि जिते एक सिट बढ्छ, हारे ठिकै छ भन्ने नीति लिएको देखियो।

माघ ४, २०८२ आइतबार २१:४८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।