निर्वाचन आयोगको निर्णयले पार्टीको ठूलो शक्ति चुनावबाट वञ्चित हुने खड्काको दाबी
काठमाडौं : नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयका कारण पार्टीको दुई तिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा सहभागी हुन नपाउने अवस्था सिर्जना हुन सक्ने बताएका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा रिट दायर गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन आयोगले एकलौटी र कानुन विपरीत निर्णय गरेको आरोप लगाए।
खड्काले भने, "निर्वाचन आयोगले संविधान, कानुन, राजनीतिक दलसम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको प्रतिकूल हुने गरी निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको हिजोको बैठकबाट सर्वसम्मत निर्णय गरेर हामी न्यायका लागि सर्वोच्च अदालत आएका हौं ।"
उनले निर्वाचन आयोगको बहुमतबाट गरिएको निर्णय न्यायिक सिद्धान्त विपरीत रहेको बताए। उनले सर्वोच्च अदालतले संविधान, कानुन, दलसम्बन्धी ऐन र पार्टी विधानको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यो विषय केवल एक राजनीतिक दलको मात्र नभई मुलुकको लोकतन्त्र र उपलब्धिको संरक्षणसँग जोडिएको प्रश्न भएको बताए।
खड्काले भने, "हामीले सबै कुरालाई उल्ट्याएर सर्वोच्च अदालतले संविधानको, कानुनको, दल सम्बन्धी ऐनको, नेपाली कांग्रेसको विधानको रक्षा गरोस् र मुलुकको लोकतन्त्र, मुलुकको उपलब्धिलाई रक्षा गर्नको लागि पनि यो महत्त्वपूर्ण निर्णय हुने छ भनेर रिट दर्ता गरेका हौं। हामीलाई विश्वास छ सर्वोच्च अदालतले यसलाई प्राथमिकतामा राखेर अघि बढाउने छ। यो राजनीतिक दलको मात्र प्रश्न होइन। यो संविधान, कानुन, दल सम्बन्धी ऐन र पार्टीको विधान जुन छ, त्यसैलाई प्रतिकुल हुने गरी सम्पूर्णरूपमा न्यायिक निर्णयको विपरीत निर्वाचन आयोगको बहुमतले गर्यो।"
माघ ४, २०८२ आइतबार १४:५३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।