एमाले उम्मेदवार चयनमा महाधिवेशनको छाया : प्रभावशाली नेताहरूको टिकट अनिश्चित

एमाले उम्मेदवार चयनमा महाधिवेशनको छाया : प्रभावशाली नेताहरूको टिकट अनिश्चित

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगाउन सुरु गरेसँगै पार्टीभित्र असन्तुष्टि देखिएको छ। ११ औँ महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धामा उत्रिएका प्रभावशाली नेताहरूको उम्मेदवारी टुंगिएको छैन, उनीहरूको क्षेत्रको निर्णय थाती राखिएको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार तय गरे पनि महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग असहमत पक्षका मुख्य नेताहरूको नाममा निर्णय हुन सकेन।

महाधिवेशन अध्यक्षका प्रत्याशी रहेका ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं-५ मा उम्मेदवार तय गरिएको छैन। महाधिवेशनमा पोखरेल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेको क्षेत्र चितवन-१ मा पार्टीले कृष्णराज पाठकलाई उम्मेदवार बनाएको छ। त्यस्तै, सचिवमा प्रतिस्पर्धा गरेका ठाकुर गैरेको क्षेत्र पाल्पा-२ मा उपाध्यक्ष विष्णु पौडेललाई टिकट दिइएको छ।

उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङमा पनि उम्मेदवारको निर्णय भएको छैन। काठमाडौं-९ मा कृष्णगोपाल श्रेष्ठ, काभ्रे-२ मा गोकुल बास्कोटा र मोरङ-६ मा विनोद ढकालको टिकट समेत हाललाई अनिश्चित छ। झापा-४ मा दुई पटक निर्वाचित एलपी सावालाई विस्थापित गर्दै केन्द्रीय सदस्य मनोज ताम्लीलाई टिकट दिइएको छ।

पोखरेल प्यानलबाट चुनाव लडेका नेताहरूमध्ये उपमहासचिव गोकर्ण विष्टले मात्र गुल्मी-२ बाट टिकट पाएका छन्। अन्य नेताहरू अरुण नेपाल, कर्ण थापा, पुरुषोत्तम पौडेल र बिन्दा पाण्डेका निर्वाचन क्षेत्रमा पार्टीले नयाँ उम्मेदवार चयन गरिसकेको छ।

उम्मेदवार छनोटको मापदण्ड र प्रक्रियाप्रति उपमहासचिव योगेश भट्टराईले गम्भीर असहमति जनाए। शनिबारको सचिवालय बैठकमा उनले तीन बुँदे ‘नोट अफ डिसेन्ट’ (फरक मत) राख्दै उम्मेदवार छनोट सन्तुलित नभएको र महाधिवेशनको भावना विपरीत भएको उल्लेख गरे।

भट्टराईले पार्टीलाई एकताबद्ध बनाउनु पर्ने समयमा महाधिवेशनको रिसिबी साँध्न नहुने धारणा राखे। यद्यपि, उनले सामाजिक सञ्जालमार्फत पार्टीको निर्णयबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै एमाले उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

"निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ," उनले लेखेका छन्।

तालमेलको सम्भावना

एमालेले झापा-३ लगायतका केही क्षेत्रमा उम्मेदवार तोकेको छैन। झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको चुनावी तालमेलका लागि क्षेत्र खाली राखिएको भनिएको छ। काठमाडौं-४ मा पनि उम्मेदवारको नाम घोषणा गरिएको छैन।

निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। अध्यक्ष ओलीले केही क्षेत्रको अन्तिम निर्णय गर्ने जिम्मेवारी आफूसँगै राखेकाले बाँकी नामावलीमा हेरफेर हुन सक्ने सम्भावना कायमै छ। तर, हालसम्मको छनोट प्रक्रियाले पार्टीको आन्तरिक शक्ति सन्तुलनमा भने प्रश्न उब्जाएको छ।

माघ ४, २०८२ आइतबार ०९:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।