देउवालाई अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्न सभापति थापाको आग्रह

देउवालाई अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्न सभापति थापाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीभित्र अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

उनले पार्टीका सबै कार्यकर्तालाई एकताबद्ध बनाउन देउवाको सहयोगको अपेक्षा समेत राखेका छन्।

शनिबार केन्द्रीय समितिको बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘हामीसँग थोरै समय छ, म पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु- अभिभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला। हामी सबै एक ठाउँमा आउनुपर्छ।’

सभापति थापाले आगामी एक-दुई दिनभित्रै कांग्रेस एक ढिक्का भएर निर्णय प्रक्रियामा सामेल भएको देख्न सकिने विश्वास दिलाए।

‘एक-दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको र निर्णय गरेको तपाईंहरूले देख्न सक्नुहुनेछ। हामी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नेछौँ’, उनले भने।

यसैगरी, उपसभापति विश्वप्रकाश शर्माले पनि असन्तुष्ट देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्ने विश्वास व्यक्त गरे। उनले अब नवीन कांग्रेसको अवधारणासँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्ने बताए।

शर्माले भने, ‘हामी एकताबद्ध भएर निर्वाचनमा जान्छौँ। निर्वाचन जित्न मात्र होइन, नवीन कांग्रेसमार्फत नवीन समाज बनाउन पनि अगाडि बढ्छौँ।’

देउवासँग संवाद गर्ने वा आशीर्वाद लिनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उपसभापति शर्माले संक्षिप्त जवाफ दिँदै भने, ‘हामी सबैको आशीर्वाद चाहन्छौँ।’

माघ ३, २०८२ शनिबार १४:१५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।