झापा-५ मा ओली र बालेनविरुद्ध भिड्न नेकपाले दियो रञ्जित तामाङलाई टिकट

झापा-५ मा ओली र बालेनविरुद्ध भिड्न नेकपाले दियो रञ्जित तामाङलाई टिकट

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार ललितपुरस्थित निवासमा केन्द्रीय सदस्य तामाङलाई उम्मेदवारको टिकट प्रदान गरेका हुन्। टिकट दिँदै प्रचण्डले तामाङलाई जितको शुभकामना दिएको बताइएको छ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ युवाहरूमाझ लोकप्रिय मानिन्छन्। उनले आफू स्थानीय भएको र जनताको सुख-दुःखमा सधैँ साथ रहेको भन्दै चुनावी अभियान सुरु गरेका छन्।

‘बाहिरबाट आउने ठूला नेताहरू भन्दा स्थानीय उम्मेदवारसँग जनताले सहज महसुस गर्नेछन्’, उनले दाबी गरे।

झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका ओलीले २०६४ बाहेक सबै निर्वाचन जितेका छन्।

यसपटक काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) पनि सोही क्षेत्रबाट उठ्ने चर्चाले झापा-५ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

माघ ३, २०८२ शनिबार १२:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।