ग्रीनल्यान्डलाई अमेरिकामा जसरी पनि गाभ्ने ट्रम्पको घोषणा, साथ नदिने देशलाई कर लगाउने चेतावनी

ग्रीनल्यान्डलाई अमेरिकामा जसरी पनि गाभ्ने ट्रम्पको घोषणा, साथ नदिने देशलाई कर लगाउने चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो योजनामा साथ नदिने देशहरूमाथि कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्। बीबीसीका अनुसार ह्वाइट हाउसमा भएको एक बैठकमा ट्रम्पले यस्तो खुला धम्की दिएका हुन्।

ट्रम्पले कुन-कुन देशमाथि कर लगाउने भन्ने स्पष्ट नपारे पनि उनले नेटोसँग पनि यसबारे कुराकानी भइरहेको बताएका छन्।

ट्रम्पले ग्रीनल्यान्डमा चीन र रुसको प्रभाव बढ्न नदिन अमेरिकाले त्यहाँ नियन्त्रण कायम गर्नुपर्ने बताएका छन्। यदि अमेरिकाले कदम नचाले रुस वा चीनले त्यहाँ आफ्नो प्रभाव जमाउन सक्ने उनको तर्क छ।

साथै, ट्रम्पले ग्रीनल्यान्डलाई ‘गोल्डेन डोम’ नामक विशाल रक्षा परियोजनाका लागि महत्त्वपूर्ण मानेका छन्। यो परियोजना इजरायलको ‘आयरन डोम’ जस्तै हो, जसले अमेरिकालाई शत्रु देशका मिसाइल आक्रमणबाट बचाउने लक्ष्य राख्छ।

डेनमार्कले ट्रम्पको ग्रीनल्यान्ड किन्ने वा कब्जा गर्ने विचारलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। डेनमार्कका विदेश मन्त्रीले यो प्रस्ताव आफ्नो देशको हितमा नरहेको स्पष्ट पारेका छन्। यद्यपि, आर्कटिक क्षेत्रको सुरक्षाका लागि अमेरिकासँग सहकार्य गर्न भने डेनमार्क तयार देखिएको छ।

यसैबीच, डेनमार्कको समर्थनमा युरोपेली देशहरू उभिएका छन्। फ्रान्स, जर्मनी, स्वीडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतले ग्रीनल्यान्डमा निगरानीका लागि सीमित संख्यामा सैनिक पठाउँदै छन्।

ट्रम्पको कडा अभिव्यक्तिका बीच अमेरिकी संसदको एक प्रतिनिधिमण्डलले ग्रीनल्यान्डको भ्रमण गरेको छ। सिनेटर क्रिस कुन्सको नेतृत्वमा रहेको टोलीले त्यहाँका प्रधानमन्त्री र डेनमार्ककी प्रधानमन्त्रीसँग भेट गरी तनाव कम गर्ने प्रयास गरेको छ। टोलीले आफूहरू स्थानीयको कुरा सुन्न आएको बताएको छ।

ग्रीनल्यान्डको विषयलाई लिएर अमेरिकी सांसदहरू नै दुई खेमामा बाँडिएका छन्। एक पक्षले ग्रीनल्यान्डलाई जबरजस्ती कब्जा गर्ने कार्यविरुद्ध विधेयक पेश गरेको छ भने अर्को पक्षले (र्यान्डी फाइन लगायत) ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने विधेयक अघि सारेको छ।

ह्वाइट हाउस र डेनमार्कका अधिकारीहरूबीच भएको वार्तामा कुनै ठूलो सहमति नभए पनि छलफल जारी राख्न एक ‘वर्किङ ग्रुप’ बनाउने निर्णय भएको छ।

ट्रम्पले सन्धि वा भाडामा (लिज) मात्र लिएर नहुने भन्दै ग्रीनल्यान्डमा पूर्ण नियन्त्रण चाहेको बताएका छन्। ह्वाइट हाउसका प्रवक्ताका अनुसार अमेरिकाले यसका लागि सैन्य बल प्रयोगसहितका विभिन्न विकल्पहरू हेरिरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि सुरक्षालाई गम्भीरतापूर्वक नलिए अमेरिकाले 'केही न केही कदम चाल्ने' चेतावनी दिएका छन्।

माघ ३, २०८२ शनिबार ०८:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।