एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटर्स मेला’ हुँदै, ५० हजार जित्ने मौका

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटर्स मेला’ हुँदै, ५० हजार जित्ने मौका

काठमाडौं : एनसेलले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा यस वर्ष पनि ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ। 'भिजन टु भेन्चर' नारासहित आयोजना हुन लागेको यो मेला आज चितवनबाट सुरु हुनेछ।

मेला आज चितवनमा माघ १० गते नेपालगञ्जमा तथा माघ १६ र १७ गते काठमाडौंमा हुनेछ। निःशुल्क प्रवेश पाइने यो मेलाले नयाँ तथा पुराना कन्टेन्ट क्रिएटरहरूलाई सीप तिखार्ने, नेटवर्किङ गर्ने र आफ्नो सिर्जनालाई व्यावसायिक बनाउने अवसर प्रदान गर्ने एनसेलले जनाएको छ।

मेलाको अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि घोषणा गरेको छ। सहभागीहरूले ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा १ मिनेटको भिडियो बनाएर इन्स्टाग्राम वा टिकटकमा अपलोड गर्नुपर्नेछ।

भिडियोमा एनसेललाई ट्याग गर्दै #CreateGaraPostGara ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। हरेक सहरबाट एक जना उत्कृष्ट क्रिएटरले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

एनसेलकी कर्पोरेट कम्युनिकेसन डाइरेक्टर विषाखा लक्ष्मी खड्काले यो मेलाले क्रिएटरहरूलाई डिजिटल युगमा प्रभावशाली सामग्री बनाउन मद्दत गर्ने बताइन्। त्यस्तै, अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइक हार्करले नेपाली क्रिएटरहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउनु कार्यक्रमको लक्ष्य रहेको बताए।

सन् २०२३ देखि सुरु भएको यो मेलामा हालसम्म ५,००० भन्दा बढी क्रिएटरहरू जोडिइसकेका छन्। कार्यक्रममा विज्ञहरूसँग अन्तरक्रिया, प्यानल छलफल र कार्यशालाहरू हुनेछन्।

माघ ३, २०८२ शनिबार ०८:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।