नेपालका तीन सहरमा एनसेलको ‘क्रिएटर्स मेला’
काठमाडौं : डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै एनसेलले नेपालका तीन प्रमुख सहरहरूमा ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा सञ्चालन हुन लागेको मेला भोलि (माघ ३ गते) चितवनबाट सुरु हुँदैछ।
यस वर्ष ‘भिजन टु भेन्चर’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेला माघ १० गते नेपालगन्ज र माघ १६-१७ गते काठमाडौंमा सञ्चालन हुनेछ। निःशुल्क प्रवेश पाइने मेलामा क्रिएटरहरूले व्यावसायिक सीप सिक्ने, सञ्जाल विस्तार गर्ने र सहकार्यका अवसरहरू प्राप्त गर्नेछन्।
मेलाको अवसरमा एनसेलले ‘भिडियो प्रतिस्पर्धा’ समेत सञ्चालन गरेको छ। सहभागीहरूले ‘एनसेल फोरजीले जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा टिकटक वा इन्स्टाग्राममा भिडियो अपलोड गर्नुपर्नेछ। प्रत्येक सहरबाट एक जना उत्कृष्ट क्रिएटर छानिनेछन्, जसले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै एनसेल फाउन्डेसनका गतिविधिमा संलग्न हुने अवसर पाउनेछन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक विशाखा लक्ष्मी खड्काले मेलाले नेपाली युवाहरूलाई डिजिटल युगमा प्रभावशाली सामग्री सिर्जना गर्न र आफ्नो सीप निखार्न सघाउने विश्वास व्यक्त गरिन्। त्यस्तै, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली क्रिएटरहरूलाई विश्व बजारसम्म जोड्न र उद्यमशीलता प्रवर्धन गर्न यो मेला कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
सन् २०२३ देखि सुरु भएको यस अभियानले हालसम्म ५ हजारभन्दा बढी क्रिएटरहरूलाई समेटिसकेको छ। मेलामा प्यानल छलफल, स्पटलाइट सत्र र डिजिटल सामग्रीलाई व्यावसायिक बनाउने विषयमा विशेषज्ञहरूसँग अन्तरक्रिया हुने एनसेलले जनाएको छ।
माघ २, २०८२ शुक्रबार १८:५९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।