आयोगलाई देउवा पक्षको खुला चेतावनी- ‘हामी बाहेकको निर्णय भए निर्वाचन बिथोलिन्छ, त्यसको जिम्मेवार आयोग हुनुपर्छ’

आयोगलाई देउवा पक्षको खुला चेतावनी- ‘हामी बाहेकको निर्णय भए निर्वाचन बिथोलिन्छ, त्यसको जिम्मेवार आयोग हुनुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको शेरबहादुर देउवा पक्षले आयोगलाई घुमाउरो शैलीमा धम्की दिएको छ।

बिहीबार आयोग पुगेका देउवा पक्षीय नेता मोहनबहादुर बस्नेतले यदि आयोगले देउवा नेतृत्वको कांग्रेसलाई आधिकारिकता नदिए आगामी निर्वाचन नै बिथोलिन सक्ने र त्यसको सम्पूर्ण जिम्मेवारी आयोगले लिनुपर्ने चेतावनी दिएका हुन्।

माघ ६ गते उम्मेदवार मनोनयनको समय तोकिएको र कांग्रेस निर्वाचन प्रक्रियामा होमिएिसकेको अवस्थामा आयोगले आफूहरू बाहेकको पक्ष (गगन-विश्व समूह) लाई आधिकारिकता दिए त्यो राज्यकै लागि दुर्भाग्य हुने बस्नेतको भनाइ छ।

आयोग परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले भने, ‘यदि आयोगले संविधान र कांग्रेसको विधान विपरीत निर्णय गर्यो र भोलि निर्वाचनको प्रक्रिया बिथोलियो भने त्यसको जिम्मेवार निर्वाचन आयोग नै हुनेछ।’

उनले निर्वाचन आयोगले विधान र संविधान पढेर मात्र निर्णय गर्नेमा आफूहरू विश्वस्त रहेको बताउँदै आयोगलाई देउवा बाहेकको विकल्प नसोच्न अप्रत्यक्ष दबाब दिए।

‘आयोगले गर्ने निर्णय भनेको शेरबहादुर देउवा सभापति भएको पार्टीलाई नै रूख चिह्न र चारतारे झण्डा सुम्पिने हो,’ बस्नेतले ठोकुवा गर्दै भने, ‘देउवा बाहेकको कांग्रेसको पक्षमा निर्णय भएमा त्यो राज्यका लागि दुर्भाग्य हुन्छ र निर्वाचन आयोगलाई पनि यसको बारेमा जानकारी छ।’

निर्वाचनको मुखमा पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउनुपर्ने दबाबमा रहेको आयोगलाई देउवा पक्षले ‘निर्वाचन बिथोलिने’ चेतावनी दिएर मनोवैज्ञानिक दबाब दिन खोजेको छ।

स्मरण रहोस्, कांग्रेसको गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले पनि आफूहरू नै आधिकारिक भएको भन्दै आयोगमा दाबी पेस गरिसकेको छ।

माघ २, २०८२ शुक्रबार ११:२५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।