ट्रम्पको चेतावनीपछि इरानले ८०० जनाको फाँसी रोकेको ह्वाइट हाउसको दाबी
एजेन्सी : ह्वाइट हाउसले इरानले करिब ८०० जनाको फाँसी (मृत्युदण्ड) को सजाय रोकेको दाबी गरेको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शुक्रबार यो जानकारी दिएकी हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई फाँसी नदिन चेतावनी दिएका थिए।
लेभिटका अनुसार, राष्ट्रपति ट्रम्प र उहाँको टोलीले इरानी शासनलाई स्पष्ट सन्देश दिएको थियो कि यदि हत्या (फाँसी) को क्रम जारी रह्यो भने यसको गम्भीर परिणाम भोग्नुपर्नेछ।
प्रेस सेक्रेटरी लेभिटले भनिन्, ‘राष्ट्रपतिलाई बिहीबार जानकारी प्राप्त भयो कि शुक्रबार कार्यान्वयन गरिने भनिएको ८०० जनाको फाँसीको सजाय रोकिएको छ। राष्ट्रपति र उहाँको टोलीले इरानको स्थितिलाई नजिकबाट नियालिरहेका छन् र राष्ट्रपतिका लागि सबै विकल्प खुला छन्।’
इरानमा पछिल्ला केही दिनयता सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्। विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूमा इरानी प्रशासनले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिने तयारी गरिरहेको दाबी गरिएको थियो।
यही सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरानले कुनै पनि प्रदर्शनकारीलाई फाँसी दिएमा अमेरिकाले त्यसका विरुद्ध 'निकै कडा कारबाही' गर्ने चेतावनी दिएका थिए।
केही दिनअघि तेहरानमा प्रदर्शनका क्रममा इरफान सुल्तानीलाई हिरासतमा लिइएको थियो। उनका एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार, अदालतले उनलाई पक्राउ परेको दुई दिनभित्रै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, बिहीबार उनको फाँसीको सजाय रोकिएको खबर सार्वजनिक भएको छ।
यद्यपि, इरानको सरकारी प्रसारण संस्थाले न्यायपालिकालाई उद्धृत गर्दै सुल्तानीलाई १० जनवरीमा अशान्तिका क्रममा पक्राउ गरिएको जनाएको छ। उनीमाथि देशको आन्तरिक सुरक्षाविरुद्ध षड्यन्त्र गरेको र शासनविरुद्ध प्रचार गरेको आरोप छ।
बीबीसी फारसीका अनुसार न्यायपालिकाले भनेको छ, "यदि अभियोजन पक्षले लगाएका आरोपहरू सक्षम अदालतमा प्रमाणित भएमा कानुनअनुसार जेल सजाय हुन्छ। यी आरोपहरूका लागि कानुनमा मृत्युदण्डको प्रावधान नै छैन।" हाल सुल्तानी कारज सेन्ट्रल जेलमा रहेका छन्।
माघ २, २०८२ शुक्रबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।