कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको मात्र उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सभापति पदका लागि गगन थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्र मनोनयन परेकाले उनी निर्विरोध हुने निश्चित प्रायः देखिएको छ।
बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमतिका लागि अन्तिम वार्ता गरेका थिए। देउवा निवासमा भएको उक्त वार्तामा सहमति नजुटेपछि महाधिवेशन निर्वाचन प्रक्रियामा गएको हो।
वार्ता निष्कर्षविहीन भएपछि थापा र शर्माले कानुनी परामर्शसहित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवार मनोनयनको समय सकिएको छ। समितिले आज दिउँसो १ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले कांग्रेसभित्रको शक्ति संघर्षलाई नयाँ मोडमा पुर्याएको छ। सभापतिमा एकल उम्मेदवारी दिएका थापा र महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका शर्मा तथा पौडेलको समीकरणले महाधिवेशनलाई थप रोचक बनाएको छ।
पुष ३०, २०८२ बुधबार १२:२५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।