नेपाली कांग्रेस विवाद : विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया र संस्थापन पक्षसँगको वार्ता सँगसँगै

नेपाली कांग्रेस विवाद : विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया र संस्थापन पक्षसँगको वार्ता सँगसँगै

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि अघि बढाइएको छ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच रातभर चलेका विभिन्न चरणका वार्ता निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय भएको हो।

सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमति जुट्न नसकेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार अब निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने प्रक्रिया सुरु गरिएको छ।

विशेष महाधिवेशन प्रचार-प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षले अझै पनि अन्तिम वार्ताको प्रयास गरिरहेको बताए। यद्यपि, वार्ताको ढोका खुला राख्दै निर्वाचन तालिकालाई निरन्तरता दिइएको उनले जानकारी दिए।

मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा पोखरेलले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार नहुँदा सहमति नजुटेको बताएका थिए।

उनले सभापति देउवाले अब पार्टी नेतृत्व छाडेर पार्टी र आफ्नो व्यक्तित्वबारे लेखन कार्यमा बाँकी जीवन व्यतीत गर्नुपर्ने सुझाव दिँदै अब निर्वाचनको विकल्प नरहेको जिकिर गरे।

यसअघि मंगलबार साँझ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो। विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ पदाधिकारीको खाकासमेत तयार पारिरहेको बुझिएको छ।

वार्ताको सम्भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले मनोनयन दर्ताको समय हेरफेर गरेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि आज बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्मको समय थप गरिएको छ।

पुष ३०, २०८२ बुधबार ०७:५२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।