प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना सेवाग्राहीलाई बैंक खातामा अनिवार्यरूपमा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न विशेष अनुरोध गरेको छ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गरेर 'आयकर ऐन २०५८' को प्रावधान बमोजिम ग्राहकको खाताबाट काटिएको करकट्टीको विवरणलाई आन्तरिक राजस्व विभागको प्रणालीमा आबद्ध गर्न यो प्रक्रिया आवश्यक रहेको जनाएको हो।

बैंकका अनुसार निक्षेपकर्ताहरूको ब्याज भुक्तानी बापत काटिएको करलाई 'इ-टीडीएस' रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि ग्राहकहरूको करकट्टीको विवरण आयकर प्रणालीको अनुसूची १० मा स्वचालित रूपमा मिलान हुनेछ, जसले गर्दा ग्राहकहरूलाई करकट्टी र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ।

प्यान अद्यावधिक नगरेका कारण ब्याज कर दाखिला नभएमा वा कर समायोजनमा समस्या आएमा बैंक जिम्मेवार नहुने समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ। सेवाग्राहीले प्यान अद्यावधिक गर्नका लागि बैंकको अनलाइन पोर्टल (panupdate.nicasiabank.com) वा मोबाइल बैंकिङ्ग एपमा रहेको 'प्यान अपडेट ' विकल्प प्रयोग गर्न सक्नेछन्। 

त्यसैगरी, इमेल ठेगाना अद्यावधिक गर्न बैंकको भिडियो केवाईंसी मार्फत वा मोबाइल एपको 'माइ प्रोफाइल' मा गएर 'चेन्ज इमेल' विकल्प छनौट गर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्न असमर्थ सेवाग्राहीले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा पुगेर पनि यो सेवा लिन सक्ने बैंकले जनाएको छ।  

पुष २९, २०८२ मंगलबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।