विशेष महाधिवेशन पक्षको नयाँ प्रस्ताव : सभापतिबाट देउवाको राजीनामा, पूर्ण वा शशाङ्कमध्ये एकको हस्ताक्षरमा उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनको चरणमा प्रवेश गरेसँगै पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूले सहमतिका लागि बोलाएको बैठकमा विशेष महाधिवेशनमा सहभागी समूहले दुई सर्त राखेका छन्।
बैठक स्रोतका अनुसार उनीहरूले शेरबहादुर देउवाले पार्टी सभापति पदबाट राजीनामा दिनुपर्ने र फागुन २१ को निर्वाचनमा आधिकारिक उम्मेदवारका लागि उपसभापति पूर्णबहादुर खड्का वा नेता शशाङ्क कोइरालामध्ये एकको हस्ताक्षरलाई आधिकारिक मान्यता दिनुपर्ने सर्त राखेका हुन्।
कानुनविद्हरूसँगको छलफलमा विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरे त्यसले निर्वाचन आयोग र अदालतबाट समेत मान्यता पाउने सुझाव दिँदै सहमति गर्नु नै उपर्युक्त हुने राय दिएपछि देउवा समूह विशेष महाधिवेशन पक्षधरसँग संवादका लागि सहमत भएका थिए।
मंगलबार बिहानबाट त्रिपक्षीय छलफल भए पनि देउवा र शेखर समूहले विशेष महाधिवेशन पक्षका प्रतिनिधीहरुलाई कुनै वचन दिन सकेका छैनन्।
“विशेष महाधिवेशनलाई निर्वाचनमा जानबाट रोक्ने हो भने सभापति पदबाट शेरबहादुर देउवाको राजीनामा हुनु पर्ने र पार्टीको आधिकारिक कामका लागि पूर्णबहादुर खड्का वा शशाङ्क कोइरालामध्ये एकको हस्ताक्षरलाई आधिकारिक मान्नुपर्ने प्रस्ताव गएको छ,” एक नेताले उकेरालाई भने “यसबारे केही प्रतिक्रिया आएको छैन। उताबाट केही जानकारी नआए विशेष महाधिवेशन निर्वाचनमा जान्छ।”
विशेष महाधिवेशनलाई पार्टीले स्विकार गरेर यसले पारित गरेको नीतिहरू स्विकार गर्नुपर्ने र संस्थापन समूहका नेताहरु बन्द सत्रको समापनमा आउनु पर्ने माग निरन्तर रहेको एक नेताले बताए।
पार्टी संस्थापन समूहले अस्विकार गरे पनि दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारबाट कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। सोमबार र मंगलबार बन्द सत्रपछि अहिले निर्वाचनको प्रक्रिया अनुसार उम्मेदवारहरुका लागि फारम वितरणको काम भइरहेको छ।
पुष २९, २०८२ मंगलबार १६:२५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।