कांग्रेसको सकस : भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया, सानेपामा 'विघटित' केन्द्रीय समिति बैठक
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनको चरणमा प्रवेश गरिसक्दा उता विघटित केन्द्रीय समितिको बैठकका लागि कांग्रेसका नेताहरू सानेपामा भेला हुन थालेका छन्। बिहानै डाँकिएको बैठक सरेर दिउँसो १ बजे तोकिए पनि ४ बज्न लाग्दा समेत बैठक भने बस्न सकेको छैन।
बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, धनराज गुरुङ, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, मोहन बस्नेत लगायतकाहरु सानेपा पुगे पनि बैठक सुरु हुन सकेको छैन। बैठकमा विशेष महाधिवेशनमा सहभागी रहेका केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू भने सहभागी हुन गएका छैनन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पुरानो निर्वाचन समिति विघटन गरेर नयाँ निर्वाचन समिति गठन गरेर प्रक्रिया अगाडि बढाइसकेको छ। सार्वजनिक भएको निर्वाचन कार्यतालिकामा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको निर्वाचनको तयारी भइरहेको छ।
सहमति खोज्न बनेको त्रिपक्षीय वार्ता टोली पनि छलफलमा बस्ने तयारीमा छ। वार्तामा विशेष महाधिवेशन पक्ष, शेखर कोइराला पक्ष र शेरबहादुर देउवा पक्षका प्रतिनिधिहरू छन्। मंगलबार बिहान बसेको बैठकमा विशेष महाधिवेशन पक्षका सदस्यहरूले आफ्नो अजेण्डाहरु पेस गरेका थिए। त्यसबारे शेखर र देउवा पक्षबाट वार्तामा रहेकाहरूले केही बताएका थिएनन्।
पुष २९, २०८२ मंगलबार १५:४७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।