कांग्रेसको निर्वाचन कार्यतालिका सार्वजनिक : २ बजे मनोनयन, आजै राति ९ बजेदेखि मतदान
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
संस्थापन पक्षसँगको वार्तामा सहमतिको प्रयास विफल भएपछि विशेष महाधिवेशन पक्षधरले चुनावी प्रक्रिया अगाडि बढाएका हुन्।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसो सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै राति ९ बजेदेखि मतदान सुरु हुनेछ।
यस्तो छ निर्वाचन कार्यतालिका
सार्वजनिक कार्यतालिका अनुसार आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ।
यस्तै, साँझ ५:३० देखि ७:३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ भने राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
समितिका अनुसार राति ९:०० बजेदेखि भोलि (पुस ३० गते) बिहान १:०० बजेसम्म भृकुटीमण्डपमा मतदान हुनेछ। मतदान समाप्त भए लगत्तै मतगणना सुरु गरी परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पार्टीका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बहुमत प्रतिनिधिहरूको उपस्थितिका बीच विशेष महाधिवेशनले पार्टीको विधान २०१७, नियमावली २०७६ र विशेष महाधिवेशन कार्यविधि २०८२ अनुसार नेतृत्व परिवर्तनको प्रक्रिया थालेको हो।
यसअघि सहमतिका लागि भएका विभिन्न चरणका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधिहरूको दबाबस्वरूप निर्वाचन प्रक्रिया सुरु गरिएको नेताहरूले बताएका छन्।
पुष २९, २०८२ मंगलबार १३:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।