‘नेतृत्व नफेरी घर फर्किन्नौँ’ भन्दै कांग्रेस विशेष महाधिवेशनमा नाराबाजी

‘नेतृत्व नफेरी घर फर्किन्नौँ’ भन्दै कांग्रेस विशेष महाधिवेशनमा नाराबाजी

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डप परिसरमा महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको माग गर्दै चर्को नाराबाजी गरेका छन्।

मंगलबार दिउँसो बन्दसत्र चलिरहँदा प्रतिनिधिहरूले ‘केन्द्रीय कार्यसमिति भंग गर’, ‘नयाँ नेतृत्व चयन गर’, र ‘यथास्थितिवादी नेतृत्व चाहिँदैन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

बिहानदेखि बालुवाटारमा जारी संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्तामा ‘नीति मात्र पारित गर्ने र नेतृत्व पुरानैलाई निरन्तरता दिने’ सहमति हुन लागेको हल्ला फैलिएपछि प्रतिनिधिहरू आक्रोशित बनेका हुन्।

यद्यपि यो हल्ला हो वा साँचो हो भन्नेबारेमा स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

आक्रोशित प्रतिनिधिहरूले विशेष महाधिवेशनको मुख्य उद्देश्य नै नेतृत्व परिवर्तन भएको भन्दै यदि नेतृत्व चयन नगरी महाधिवेशन टुंग्याउने हो भने आफूहरूलाई किन बोलाएको भन्दै नेताहरूसँग प्रश्न गरेका छन्।

‘हामीलाई नीतिमा मात्र ताली बजाउन बोलाइएको होइन,’ एक प्रतिनिधिले आक्रोश पोख्दै भने, ‘अहिलेको विशेष महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्नुपर्छ। पुरानै नेतृत्व बोकेर हामी जिल्ला फर्किने छैनौँ।’

पुष २९, २०८२ मंगलबार १३:१२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।