६ भाईको चक्रव्यूहमा देउवा !
काठमाडौं : नेपाली कांग्रेसभित्र संस्थापनको रूपमा परिचित शेरबहादुर देउवाको निर्णयमा प्रत्यक्ष प्रभावित पार्ने पात्रहरू हुन् विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह र प्रवक्ता डा. प्रकाशशरण महत। देउवाको छत्रछायामा पटक-पटक पार्टीबाट पाउने अधिकतम लाभ भोग गरेका यी सातमध्ये विशेष महाधिवेशनको समयमा अहिले गोपालमान देउवासँग रहेनन्। उनी विशेष महाधिवेशनको उद्घाटन सत्रमै सहभागी भए।
अन्य ६ भाइ अहिले पनि देउवासँगै छन्। देउवासँग उनीहरू निकट रहनुको स्वार्थ प्रस्ट छ'१५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुन उनको आशीर्वाद।
अहिले देउवाको साथमा रहेकामध्ये तीन पात्र सिटौला, प्रकाशमान अनि विमलेन्द्रले पार्टी सभापति हुन प्रयास गरे पनि असफल भए। देउवाको आशीर्वाद नपाई पार्टीको सर्वोच्च पद नपाइने निष्कर्ष निकाल्दै उनीहरू पुन देउवाकै समूहमा पुगे।
१३ औँ महाधिवेशनसम्म अलग समूहमा रहेका डा. शशाङ्क १४ औँ महाधिवेशनमा डा.शेखर कोइरालालाई साथ नदिएर देउवालाई जित्न सहज गराइदिए वापत १५ औँमा उनको साथ खोज्दै समूहमा मिसिए। यीमध्ये विजयकुमार र प्रकाशशरणको लक्ष्य लाभको पदको लोभ देखिन्छ। यसमा प्रकाशमान सबैभन्दा अब्बल नै हुन्।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र सुरु भएको नियमित महाधिवेशन कि विशेष अनि फागुन २१ को निर्वाचन अगाडि कि पछाडि भन्ने बहसमा यी सबै नियमित महाधिवेशनको पक्षमा उभिए त्यो पनि निर्वाचनपछि।
त्यसको स्वार्थ फागुन २१ मा पार्टीको तर्फबाट वितरण हुने टिकट अनि १५ औँ महाधिवेशनमा देउवाको आशीर्वाद पाए पाउन सक्ने पार्टी नेतृत्व नै देखियो।
जेनजी आन्दोलनमा आफ्नै निवासमा कुटिँदाको पीडा अनि निवास परिसरमा जलेका नोटका बिटाले फैलाएको बदनामीबाट दिक्किएर पार्टीमा कार्यवाहक तोक्दै सक्रिय राजनीति नगर्ने देउवाको घोषणा यी सबै नेताहरूका हकमा झड्का थियो।
यी सात भाइभन्दा अलि भिन्न स्वभाव भएका पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि नियमित महाधिवेशनका लागि पार्टीमा छलफल सुरु हुँदा सिंगापुरमा रहेका देउवालाई सक्रिय गराउने र यता नियमित वा विशेष महाधिवेशन हुन नदिने माहोल बनाउन यही समूह सक्रिय भयो।
अन्तमा सक्रिय राजनीतिबाट बिदा भइसकेका देउवालाई यही समूहले पुन पार्टीको आन्तरिक र बाह्य दुवै राजनीतिमा सक्रिय मात्र गराएनन् अनेक बहाना र अवरोधको निर्माण गरेर पुस अन्तिमसम्ममा पार्टीको नियमित महाधिवेशन गराउने देउवाकै योजना असफल बनाए।
उनीहरूको उद्देश्य जेनजी आन्दोलनपछि चर्किएको नेतृत्व परिवर्तनको मुद्दालाई ओझेलमा पार्नु थियो। किनकि यो माहौलमा पार्टीको महाधिवेशन भए सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका गगन थापा हाबी हुने पक्का थियो। त्यसैले उनीहरू सकेसम्म महाधिवेशनको समय लम्ब्याउनतिरै लागे। र सफल पनि भए।
मंसिर १५ गते पार्टीले पुस अन्त्यमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गर्दा पार्टीका प्रवक्ता समेत रहेका प्रकाशशरणले नियमित महाधिवेशन हुन नसक्ने र सर्ने बताउनु त्यसैको प्रारम्भ थियो। यसका लागि पुस अन्त्यमा नियमित महाधिवेशन हुन नदिन तोकिएको तल्लो तहदेखिको कार्यतालिका अनुसार काम हुन रोक्नु थियो, रोकियो।
योजना अनुसारै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत नियमित महाधिवेशन फागुन २१ को निर्वाचनपछि वैशाखमा पूर्याउन उनीहरू सफल पनि भए। तर विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बुझाएको निवेदन फिर्ता नभएको उनीहरूले हेक्का राखेनन्।
देउवालाई देखाएर महाधिवेशन धकेल्दा निर्वाचनको मुखमा निहुँ खोजेर संसदीय निर्वाचनको टिकट जोखिममा कसले पार्छ र भन्ने उनीहरूको अनुमान विपरीत दुई महामन्त्रीले विशेष महाधिवेशनको तयारी गरे र तोकिएको मितिमा सुरु पनि गरे।
गगन थापा अनि विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रारम्भ गरेपछि उनीहरूले दुबैलाई एक्लाउन र आवश्यक बहुमत पुर्याउन नदिन शेखर कोइरालालाई भागबन्डाको लोभ देखाए। राष्ट्रिय सभाको सात सिटमा तीन जना आफूले भनेकाहरू हुने भएपछि डा शेखर पनि फसे।
शेखरसमेत विशेष महाधिवेशनको पक्षमा नलागेपछि गगन-विश्वले मात्र बोलाएको भरमा महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउँदैनन् भन्ने उनीहरूको निष्कर्ष असफल भयो।
तर आगामी निर्वाचनमा मतदाताको घर-दैलोमा जाँदा पार्टीको नीति र नेतृत्वबारे आउने प्रश्नको उत्तर नभेटिएर अन्योलमा परेका महाधिवेशन प्रतिनिधिहरूले गुट हेरेनन्।
गगन-विश्व मात्रै हैन देउवा, शेखर, सिटौला सबै समूहका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर नीति मात्रै हैन नेतृत्व नै बदल्ने कार्यविधि पारित गरेपछि पार्टी फुटको दोषबाट पन्छिन "अब मिलाउने जिम्मा तपाईँको" भन्दै देउवा र पूर्णबहादुरको काँधमा जिम्मेवारी पन्छाएर सोमबार ६ भाई भागिसके।
महाधिवेशनको उद्घाटन मात्रै हैन, बन्द सत्र सुरु भएर अब के-के गर्ने भन्ने कार्यविधि नै पास भइसकेको छ। कार्यविधिमा प्रस्ट नियमित महाधिवेशन नभएसम्मका लागि नयाँ कार्यसमितिको निर्वाचन गर्ने लेखियो।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आफूहरू नीति मात्रै हैन नेतृत्व बदलेर जिल्ला फर्कन आएको, धोका होला भनेर गगन-विश्वलाई खबरदारी गरिरहेको बेलामा सभापतिको रूपमा देउवा र असफल कार्यवाहक सभापतिको रूपमा पूर्णबहादुर दुवैले नयाँ नेतृत्व चयनको प्रक्रिया रोक्न सक्ने सम्भावना निकै कम छ।
विशेष महाधिवेशनले बनाएको कार्यविधि गगन-विश्वले चाहेर बदलिने अवस्था पनि छैन। नेतृत्व चयनको अजेण्डा छाडेर यसलाई केवल नीति महाधिवेशनमा मात्र सीमित गर्दा आइलाग्ने अबगालबारे उनीहरू जानकार नै देखिन्छन्।
"अब पार्टीको काम गर्दिन, त्यसैले कार्यवाहक दिएँ, १५ औँ महाधिवेशनपछि सक्रिय राजनीति पनि गर्दिन" भनेर आफैँले घोषणा गरे पनि देउवाले धोका दिए।
विशेष महाधिवेशन गर्नुपर्ने समय सीमाभित्र नियमित महाधिवेशन गरेर नेतृत्व बदल्छौँ भनेर गरेको निर्णय देउवा-शेखर मिलेर असफल बनाए।
पार्टीको संस्थापनपक्षले निरन्तर देखाएको चरित्र धोका नै हो। यस्तो बेलामा अब विशेष महाधिवेशनबाट नयाँ नीति र नयाँ नेतृत्व चयन गर्न छाडेर पुन ६ भाइको चक्करमा गगन-विश्व फस्ने मूर्खता गर्लान् त!
पुष २८, २०८२ सोमबार २२:२५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।