गगन-विश्वसँग छलफल गर्ने जिम्मा देउवा र पूर्णबहादुरलाई, महाधिवेशन मंगलबारसम्म
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ कार्यसमितिको निर्वाचनको कार्यविधि पारित गरेपछि आन्तरिक छलफलमा सक्रिय भएको सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले यसबारे महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर समस्या समाधान गर्ने जिम्मेवारी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।
आइतबारबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनले पारित गरेको कार्यविधिमा नियमित महाधिवेशन नभएसम्मका लागि नयाँ कार्यसमिति चयन गर्ने राखेपछि विशेष महाधिवेशनको विपक्षमा रहेकाहरू सक्रिय भएका हुन्। देउवा निवासमा शेखर समूहसहित छलफल चल्दा उता भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ।
‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भने, ‘कोही पनि पार्टी विभाजन चाहँदैन। पार्टी एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको छ।"
यता सोमबार सकिने गरी सुरु भएको विशेष महाधिवेशन मंगलबारसम्म हुने भएको छ। महाधिवेशनको बन्दसत्रमा पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो धारणा राख्नेक्रम जारी रहेको भन्दै विशेष महाधिवेशन मंगलबारसम्म पूर्याइएको हो।
पुष २८, २०८२ सोमबार १७:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।