गगनको राजनीतिक प्रस्ताव : विगतको कमजोरीप्रति क्षमा माग्दै लोकप्रियतावादको प्रतिवाद
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विगतमा सत्ता र संसद्मा रहँदा भएका कमी-कमजोरी, नीतिगत असफलता र सुशासन कायम गर्न नसकेमा नागरिकसँग क्षमा माग्दै बढ्दो अति दलीयकरण विरुद्ध काम गर्ने उल्लेख गरेका छन्।
भदौ २३ को जेनजी विद्रोहलाई अराजकताका रूपमा नलिई पार्टीले उच्च सम्मानका साथ सम्मान गर्ने उल्लेख गरेको छ। थापाको प्रस्तावको १० महत्वपूर्ण बुँदाहरू :
१. जेन-जी विद्रोहको अपनत्व र सम्मान : २०८२ भदौ २३ र २४ गते भएको युवाहरूको विद्रोहलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनविस्फोट मान्दै, यसले व्यक्त गरेको आमूल परिवर्तनको चाहनालाई पार्टीले उच्च सम्मान गर्ने सङ्कल्प गरेको छ।
२. निर्णायक तहमा युवा प्रतिनिधित्व : युवा पुस्ताको भावनालाई सम्बोधन गर्न पार्टीको आन्तरिक सांगठनिक संरचनादेखि राज्य सञ्चालनका राजकीय र सार्वजनिक निकायहरूमा युवाहरूको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिइनेछ।
३. गम्भीर आत्मालोचना र क्षमा याचना : विगतमा सत्ता र संसद्मा रहँदा भएका कमी-कमजोरी, नीतिगत असफलता र सुशासन कायम गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै पार्टीले जनतासँग विनम्रतापूर्वक क्षमा याचना गरेको छ।
४. विशेष महाधिवेशनको वैधानिकता : पार्टीका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको लिखित माग र विधानको धारा १७ (२) को बाध्यात्मक व्यवस्था अनुसार पार्टीलाई सुदृढ र पुनर्गठन गर्न यो विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारिएको छ।
५. सुशासन र भ्रष्टाचार नियन्त्रण : भ्रष्टाचारको अन्त्य, पारदर्शिता र सूचनाको हक सुनिश्चित गर्दै विधिको शासन बलियो बनाउन संवैधानिक र नियामक निकायहरूलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
६. रेमिट्यान्स निर्भरताको अन्त्य र आत्मनिर्भर अर्थतन्त्र : मुलुकको अर्थतन्त्रलाई रेमिट्यान्सको भरबाट मुक्त गराई कृषि, उद्योग, ऊर्जा, पर्यटन र प्रविधिमा आधारित आत्मनिर्भर एवं समावेशी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ।
७. अति-दलीयकरणको अन्त्य र योग्यताको कदर : सार्वजनिक संस्थाहरूमा रहेको अति-दलीयकरणलाई निरुत्साहित गर्दै नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यतालाई प्राथमिकता दिने सङ्कल्प गरिएको छ।
८. लोकरिझ्याईंको प्रतिवाद : सामाजिक सञ्जालमार्फत फैलिएको सतही र उत्तेजनापूर्ण 'लोकरिझ्याईं' को राजनीतिलाई परास्त गर्न जिम्मेवार संवाद, तथ्यपरक सूचना प्रवाह र डिजिटल संवादलाई प्रभावकारी बनाइनेछ।
९. संविधानको गतिशील कार्यान्वयन र परिमार्जन : संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधानमा समयानुकूल उदार र प्रगतिशील परिमार्जन गरी मुलुकलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय जिम्मेवारी लिइएको छ।
१०. 'निरन्तरतामा नवीनता' को सङ्कल्प : कांग्रेसको ऐतिहासिक विरासत र लोकतान्त्रिक आदर्शलाई जीवित राख्दै आजको समयको चेत अनुसार पार्टीलाई एक अब्बल, गतिशील र आधुनिक संगठन बनाउने दृढ सङ्कल्प गरिएको छ।
पुष २८, २०८२ सोमबार १७:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।