निराशा चिर्न काँग्रेसले 'राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन' गर्छ : गगन थापा

निराशा चिर्न काँग्रेसले 'राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन' गर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशव्यापी पार्टीको विशेष महाधिवेशनपछि 'राष्ट्रिय पुनर्जागरण अभियान' सञ्चालन गरिने बताएका छन्। 

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सोमबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले पार्टी र मुलुकको राजनीतिलाई नयाँ दिशा दिने संकल्प प्रस्तुत गरे। पार्टीभित्र र नागरिकस्तरमा देखिएको निराशा चिर्न राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालनको आवश्यकता उनले औँल्याए। 

प्रतिवेदनमा भनिएको छ, "नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गर्दछ। यसको मुख्य उद्देश्य निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको दियो जगाउनु राजनीतिलाई जनमुखी र समाज केन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो।"

गुटबन्दी र व्यक्तिगत स्वार्थले पार्टी र लोकतन्त्र दुवैलाई कमजोर बनाएको भन्दै थापाले अभियानमार्फत एकताको सन्देश दिइने बताए। प्रतिवेदनमा भनिएको छ, "यो अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गरी राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यो अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक-सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने छ।"

नयाँ पुस्ताको आक्रोश र बदलिँदो जनभावनालाई सम्बोधन गर्न अभियान केन्द्रित रहने उनको भनाई छ। थापाले प्रतिवेदनमा भनेका छन्, "यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह गर्नेछ, राष्ट्रिय स्वाभिमान बढाउने छ र अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिर्जना गर्नेछ। संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समतालाई प्रवर्द्धन गर्ने मार्गचित्रका साथ आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नेछ।" 

पुष २८, २०८२ सोमबार १६:१८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।