विशेष महाधिवेशनले निर्वाचनको तयारी गरेपछि देउवा-शेखर समूहमा दौडादौड, बिहानैदेखि जारी छ गुटगत छलफल
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्रले नियमित महाधिवेशन नभएसम्मका लागि नयाँ पदाधिकारी नियुक्त गर्ने कार्यविधि पारित गरेसँगै संस्थापन समूह आन्तरिक छलफलमा जुटेको छ। पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइराला विशेष महाधिवेशनको विपक्षमा छन्।
तर ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरू भेला भएर सुरु भएको विशेष महाधिवेशनको बन्द सत्रमा विधान संशोधनदेखि नियमित महाधिवेशन नभएसम्म वर्तमान कार्यसमिति भङ्ग गरेर नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्यविधि पारित गरेको छ। कार्यविधि अनुसार विशेष महाधिवेशन अगाडि बढेमा शेरबहादुर देउवाको १० वर्षीय कार्यकाल समाप्त हुनेछ।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेको अवस्थामा तीन महिनाभित्रमा विशेष महाधिवेशन गर्नुपर्ने पार्टीको विधानमा व्यवस्था छ। तर देउवा र शेखर समूहले बाध्यात्मक कानुनी प्रावधानलाई विशेष महाधिवेशन कसले बोलाउने भन्ने प्राविधिक विषयमा लगेर अल्झाइरहेका छन्।
पुस २८ भित्र विशेष महाधिवेशन वा त्यसको विकल्पमा नियमित महाधिवेशन आयोजना गर्नुपर्ने भए पनि कार्यसम्पादन समितिको बैठकबाट बहुमतको आधारमा महाधिवेशन वैशाखमा पूर्याएपछि विशेषको माग अनुसार तीन महिनाभित्रै पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सोमबारबाट विशेष महाधिवेशन सुरु भयो।
प्रारम्भमा विशेष महाधिवेशनै रोक्न सक्रिय समूह जसरी पनि विशेष महाधिवेशन हुने भएपछि यसलाई नीति महाधिवेशन बनाउने प्रयासमा लागेका थिए। तर सोमबार महाधिवेशनले कार्यविधि पास गर्दा निर्वाचन समेत समावेश गरेपछि अहिले देउवा र शेखर समूह आन्तरिक छलफलमा छन्।
विशेष महाधिवेशनको वैधताको पक्षबारे भएको छलफलमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नु पर्ने र बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएर गर्ने निर्णय वैध हुने देखिएपछि उनीहरू विशेष महाधिवेशनलाई निर्वाचनको चरणमा जानबाट रोक्न छलफलमा जुटेका हुन्।
सोमबार बिहान शेखर कोइरालाले आफू निकटका नेताहरूसँग छलफल गरेका थिए। देउवा पनि आफ्नो निवासमा आफू निकट नेताहरूसँग छलफलमा थिए। उनले केही कानुनबारे जानकारहरूसँग समेत छलफल गरेका थिए। आफ्नो समूहका नेताहरूसँगको छलफलपछि शेखर अहिले शेरबहादुर देउवासँग छलफल गर्न उनको निवास गएका छन्। यही बिचमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अपिल जारी गरेर पार्टीको एकतामा असर पर्ने कुनै गतिविधि नगर्न आग्रह गरेका छन्।
पुष २८, २०८२ सोमबार १६:०७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।