वैधानिक संकटमा फस्ने देखिएपछि खड्काको चेतावनी : पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्नू

वैधानिक संकटमा फस्ने देखिएपछि खड्काको चेतावनी : पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्नू

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन्। भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन चलिरहेको बेलामा सोमबार एक विज्ञप्ति जारी गरेर पार्टीभित्र उत्पन्न असहज परिस्थितिलाई अन्त्य गर्दै एकजुट हुन आग्रह गरे। 

मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनमा देखिएको अन्योललाई चिर्नका लागि एकता अपरिहार्य रहेको उनको भनाई छ। खडकाले भनेका छन्, “यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।”

आगामी फागुन २१ गते तोकिएको निर्वाचनमार्फत संविधानलाई सही मार्गमा ल्याउन पार्टी सुदृढ र संगठित हुनुपर्नेमा उनको जोड छ। निर्वाचनपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट नीति र नेतृत्वमा आवश्यक परिमार्जन गर्ने अवसर प्रशस्त रहेको भन्दै उनले अहिलेको मुख्य ध्यान प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए।

बदलिएको अवस्थामा पार्टीको नीति र नेतृत्व फेर्ने संकल्पका साथ भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन चलिरहेको बेला उनको यो विज्ञप्ति आएको हो। ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा बेवास्ता गरेको संस्थापन पक्ष अहिले बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएपछि वैधानिक संकटमा फसेको छ। सोही बेला खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने गरी गतिविधि नगर्न अपिल गरेका हुन्।

पुष २८, २०८२ सोमबार १६:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।