विशेष महाधिवेशनको बन्दसत्रमा सभापति देउवा नजाने

विशेष महाधिवेशनको बन्दसत्रमा सभापति देउवा नजाने
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको असन्तुष्ट पक्षले आयोजना गरेको ‘विशेष महाधिवेशन’ को बन्दसत्रमा सहभागी हुने हल्ला निराधार रहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

सभापति देउवा आज भृकुटीमण्डपस्थित कार्यक्रम स्थलमा जाने भनी सामाजिक सञ्जालमा फैलाइएको सूचनामा कुनै सत्यता नरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

सचिवालयले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले सभापति देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’

विशेष महाधिवेशन पक्षधर समूहले आइतबारदेखि भृकुटीमण्डपमा भेला आयोजना गरेको छ, जसअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका छ।

आइतबारको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्दसत्रमा सहभागी भई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका थिए। तर, संस्थापन पक्षले भने यो भेलालाई आधिकारिक मानेको छैन।

पुष २८, २०८२ सोमबार ०९:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।