तत्काल इन्टरनेट खुलाउन इरानलाई युएनको आग्रह, सरकारद्वारा सुरक्षाकर्मीलाई ‘निर्णायक दमन’को आदेश
एजेन्सी : इरानमा जारी सरकार विरोधी प्रदर्शन र त्यसमाथि भइरहेको चरम दमनका बीच संयुक्त राष्ट्रसंघको ‘स्वतन्त्र तथ्यांक संकलन नियोग’ले इरान सरकारलाई कडा चेतावनी दिएको छ।
आइतबार जारी गरिएको प्रतिवेदनमा राष्ट्रसंघले इरानलाई तत्काल इन्टरनेट र मोबाइल सेवा सुचारु गर्न तथा प्रदर्शनकारीमाथिको हिंसात्मक कारबाही रोक्न आग्रह गरेको छ।
राष्ट्रसंघीय नियोगले विश्वसनीय जानकारी प्राप्त गरेको भन्दै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सुरक्षाकर्मीलाई प्रदर्शन रोक्नका लागि कुनै संयम नअपनाई निर्णायक दमन गर्न आदेश दिएको खुलासा गरेको छ।
समाचार संस्था ‘इरानवायर’ र विभिन्न मानव अधिकारवादी समूहका अनुसार जनवरी ८ मा इन्टरनेट काटिएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि सिधा गोली चलाएको र हिंसा थप बढेको पुष्टि भएको छ।
प्रतिवेदनका अनुसार इरानका कम्तीमा ६४ शहरमा प्रदर्शन फैलिएको छ। जनवरी ८ मा पूर्ण रूपमा इन्टरनेट बन्द हुनुअघि नै ५ जना बालबालिकासहित ४० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको थियो।
विशेष गरी कोम, यासुज, कर्मानशाह, इलाम र लोरेस्तान क्षेत्रमा बढी क्षति भएको छ।
प्रदर्शनका क्रममा ११३ जना बालबालिकासहित सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। राष्ट्रसंघले यो दमनलाई यसअघिको महिला, जीवन, स्वतन्त्रता आन्दोलनमा भएको मानव अधिकार हननकै निरन्तरता भनेको छ।
राज्य संयन्त्रबाट हुने यस्ता अपराधमा कोही पनि जवाफदेही नहुने परिपाटी इरानमा संस्थागत भइसकेको नियोगको निष्कर्ष छ।
अर्कोतर्फ, इरानी संसदलाई उद्धृत गर्दै प्रतिवेदनमा केही सुरक्षाकर्मीहरूको पनि प्रदर्शनका क्रममा मृत्यु भएको उल्लेख छ।
पुष २८, २०८२ सोमबार ०९:१८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।