विशेष महाधिवेशनको पक्षमा खुले देउवा समूहका यी नेता

विशेष महाधिवेशनको पक्षमा खुले देउवा समूहका यी नेता

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षमा नेताहरू विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा संस्थापन पक्षमा रहेका नेताहरूको उपस्थिति देखियो।

विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाइरहेको संस्थापन पक्षकै नेताहरू कार्यक्रम स्थल पुगेर ऐक्यबद्धता जनाएका छन्। महाधिवेशन उद्घाटन समारोहमा उद्घोषकले संस्थापन पक्षका नेताहरूको नाम सार्वजनिक गरे।

उद्घोषकले कार्यक्रममा सहभागी रहेका सभापति शेरबहादुर देउवा निकट मानिने उदयशमशेर राणा, डिला संग्रौला र पुष्पा भुसालको नाम लिए। त्यसैगरी, चर्चित उद्योगपति विनोद चौधरी, नेताहरू राजन केसी, देवेन्द्रराज कँडेल, भरत शाह, अब्जुल सतार, अर्जुन जोशी, नानु बास्तोल र योगेन्द्र चौधरीलगायत नाम लिइएको थियो।

सभापति देउवाका विश्वासपात्रहरू नै विशेष महाधिवेशनको पक्षमा उभिनुले कांग्रेसभित्रको समीकरण फेरिएको विश्लेषण गर्न थालिएको छ। एकातिर संस्थापन पक्षभित्रै तीव्र असन्तुष्टि रहेको र अर्कोतिर आगामी नेतृत्व र नीतिका लागि नयाँ ध्रुवीकरणको बाटोमा विशेष महाधिवेशन पक्षधर अघि बढेपछि चासोको रूपमा हेरिएको छ।

पुष २७, २०८२ आइतबार १४:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।