कांग्रेस विशेष महाधिवेशन : नीति मात्र कि नेतृत्व पनि बदल्ने!

कांग्रेस विशेष महाधिवेशन : नीति मात्र कि नेतृत्व पनि बदल्ने!

काठमाडौँ : पार्टी संस्थापन पक्षको निरन्तर अवरोधका बिच नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भयो।

पार्टी सभापति शेरबहादुर देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, संस्थापन इतरका नेता शेखर कोइराला नआएपछि भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरे।

पहिला महाधिवेशन नै रोक्न खोजेकाहरू असफल भएपछि अब यसलाई केवल नीतिगत महाधिवेशनको रूपमा सम्पन्न गराउन केही नेता सक्रिय भएका छन्। महाधिवेशनमा भने पार्टी नेतृत्वमा अब गगन र विश्व ल्याउन नाराबाजी भइरहेका छन्।

५१% महाधिवेशन प्रतिनिधि बन्द सत्रमा सहभागी भएर नेतृत्व परिवर्तनमा प्रवेश गरेमा निर्वाचन गरेर नेतृत्व बदल्न पनि सक्छन्। 

नेतृत्व बदले यसले कानुनी बाटो लिएर को आधिकारिक भन्ने विवाद निम्त्याउने छ। निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिए गगन-विश्वले पार्टी नेतृत्व गर्ने छन्। संस्थापनले मान्यता पाए शेरबहादुर देउवा नियमित महाधिवेशन अगाडिसम्म नेतृत्वमा रहने छन्।

गगन-विश्वले विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने दाबी गरेका छन्। तर बहुमत महाधिवेशन प्रतिनिधिले चाहेमा कि उनीहरूले नेतृत्व गर्नुपर्ने छ वा अन्य नेतृत्व चयन हुन सक्छ।

महाधिवेशनले विधान संशोधन गर्ने तयारी गरेको छ। तर नेतृत्व परिवर्तनबारे अझै स्पष्ट भएको छैन।

पुष २७, २०८२ आइतबार १४:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।